काठमाडौं । चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ । लिम्बू भाषामा निर्माण हुने ‘सेक्मुरी’को ललितपुरकाे हात्तीवनस्थित माङहिममा एक कार्यक्रमबीच शुभमुर्हत गर्दै निर्माण घोषणा गरिएको हो ।
लिम्बुनी फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रमा लेखन तथा निर्देशन सुर्यप्रकाश चेम्जोङको रहेको छ । यस चलचित्रका लागि कलाकारहरुले १५ दिनको वर्कशप गरेका छन् । वर्कशपमा सहभागी कलाकारलाई शुभमुर्हत कार्यक्रममै प्रमाणपत्र दिइएको थियो ।
कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ का अध्यक्ष योतिराज राई, नेपाल आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान संघीय अध्यक्ष अमृत सुनुवार, किरात याक्थुङ चुम्लुङका संघीय सचिव यासेली योङहाङ लगायतका कलाकारको उपस्थिति रहेको थियो ।
यही पुस २३ गतेबाट चलचित्रको छायाँकन सुरु हुने निर्देशक चेम्जोङले जानकारी दिए । उनका अनुसार ‘सेक्मुरी’को छायाँकन पाँचथर, इलाम, काठमाडौं र हङकङमा हुनेछ । रविनकुमार नाल्बो, चन्द्रकला नेम्बाङ, पूर्ण सेलिङ, घनेन्द्रराज फियाक, माया तामाङ र सुनाहाङ जबेगु निर्माण रहने ‘सेक्मुरी’को लागत ७५ लाख रहने निर्माणपक्षले जनाएको छ ।
‘मरेको मान्छेले सम्मान पाउनुपर्छ र प्रेमले जीवित या मृत आत्म उत्तिकै सम्बन्ध राख्छ’ भन्ने चलचित्र ‘सेक्मुरी’को मुख्य अवधारणा रहेको छ । यस चलचित्रमा प्रेम सुब्बा, सागर केरुङ, बबिता फोम्बो, नरेश वनेम, पबी तेम्बे, पूर्ण सेलिङ, याम नेयोङ, इन्दु तुम्सा, सीता राई, रिहा लिम्बू, डिआर हाङसरुम्बा, अल्का चोङबाङ, जानुका लिम्बु लगायतको अभिनय रहने भएको छ ।
युवराज राईको छायांकन, यासेली योङहाङको गीत, अशोक मुकारुङको संगीत, साहिल खानको सम्पादन, दिनेश माङमु र महेश्वर सम्बाहाम्फेको सह–निर्देशन रहने ‘सेक्मुरी’को प्राविधिक निर्देशकका रुपमा रवी शेर्मा रहने भएका छन् । यस चलचित्रलाई आगामी २०८२ मा प्रदर्शनमा ल्याइने निर्देशक चेम्जोङले बताए ।