नेपाली साहित्य फाँटमा अनिता न्यौपाने धेरै पुरानो नाम होइन । हालै एक ‘कविता महोत्वस’मा उत्कृष्ट १० मा पर्न सफल भएपछि उनी चर्चामा आएकी हुन् । कविता लेखनलाई उनी ‘आत्मसन्तुष्टि र प्रेम’का रुपमा लिन्छिन् ।
त्यसो त साहित्यमा बढी लेखिने र पढिने कविता नै हो । अनिता भन्छिन्, ‘सानैदेखि कविता लेख्थेँ, कविता पढ्दा र लेख्दा मनैदेखि आन्नद लाग्छ ।’ अनिता आफू पनि कवितामार्फत पे्रम र स्नेहता दर्साउँछिन् । मकवानपुर, हेटौंडाकी कवि एवं साहित्यकार अनितासँग रेजिना पाण्डेको जम्काभेट ।
कविता लेख्न कहिलेदेखि थाल्नुभयो ?
मैले विवाहपछि मात्र कविता लेख्न थालेको हुँ । विवाहअगाडि कोर्ष बुकबाहेक कुनै साहित्यिक कृतिहरू पढेकी थिइनँ । मैले मेनेजमेन्टमा मास्टर गरेर हाल कानुन बिषय पढिरहेको छु । साथै, लाइब्रेरीमा सहायक कम्प्यूटर अपरेटर भएर पनि काम गरेकी थिएँ । त्यसबिचमा मैले लाइबे्ररीमा विभिन्न लेखकका किताबहरू पढ्ने मौका पाएँ । सोहीक्रममा मलाई पनि लेख्ने रुचि जाग्न थाल्यो ।
लाइब्रेरीमा कस्ता किताब बढी पढ्नुहुन्थ्यो ?
प्रायः सबै विधाका किताब पढेँ । जब, नारायण वाग्लेको ‘पल्पसा क्याफे’ (उपन्यास) पढेँ, तब मेरो मनमा यसरी छायो कि, किताब र शब्दहरूप्रति मेरो पे्रम बढ्न थाल्यो । मान्छेहरू किताब किन पढ्दोरहेछ भन्ने महसुस भयो । त्यसपछि निरन्तर पुराना लेखकहरू पारिजातदेखि देवकोटासम्मका कृतिहरू पढेँ । आज पुस्तक मेरो साथी भएको छ ।
पहिलोपटक कविता लेख्नुभएको थाहा छ ?
२०६५ सालतिर होला, मैले एउटा कविता कोरेकी थिएँ । त्यो कविता मकवानपुरको पालुङमा सुनाएकी थिएँ, सबैले तारिफ गरे । अहिले लेखनमा निरन्तर छु । एउटा कवितासंग्रह प्रकाशित भइसकेको छ । निवन्ध संग्रह चाँडै बजारमा आउँदैछ ।
तपाईँको कविताको पहिलो पाठक को हो ?
म आफैँ स्वयंम र परिवार । कविता लेखिसकेपछि सुरुमा आफैंले पढ्ने गरेकी छु ।
भनिन्छ, कविता धेरै लेखिने साहित्य हो, तपाईँलाई के लाग्छ ?
हो, तर, धेरैले रहरले कविता लेख्छन् । कविता रहरले लेख्नु र समाजलाई बुझेर लेख्नुमा फरक पर्छ । कविता एउटा भुगोल हो, भुगोललाई बुझने काम सहज छैन । कविता लेख्ने काम पनि सहज छैन ।
‘कविता महोत्सव’मा ‘उत्कृष्ट १०’मा पर्दा कस्तो अनुभव भयो ?
रमाइलो र खुशी अनुभव हुनु स्वभाविकै हो । मेरो कविता सबैको मनमुटुमा बस्न सफल छ भन्ने आभाषसहित आन्नद लाग्यो ।
उत्कृष्ट १० मा पर्न सफल तपाईंको कविताको विषय के थियो ?
बालमनोविज्ञानमा आधारित थियो । आजका बालबालिकाहरू के खोजिरहेका छन् ? के चाहिरहेका छन् ? भन्ने बालबालिकाको मनोदशालाई बुझेर लेखेको त्यो कविताको शीर्षक ‘अचेल कहाँ हराइरहेका छन् बच्चाहरू’ थियो ।
कविता लेख्दालेख्दै निवन्धप्रति चाहिँ कसरी चासो बढ्यो ?
कविता लेख्दा मनमा आन्नद लाग्न थाल्यो । शब्दहरू प्र्रति पे्रम बढ्यो । कविता लेख्दालेख्दै अरू नयाँ स्वादमा केही लेखौँ भन्ने लाग्यो र निवन्ध लेख्न सुरु गरेँ ।
कविता लेख्न सजिलो कि निवन्ध ?
मलाई निवन्ध लेख्न सजिलो लाग्छ । किनकि, निवन्धमा शब्दलाई कन्जुसाई नगरी फैलाउन पाइन्छ । तर, कवितामा धेरै फैलाउन पाइँदैन । चार लाइनको कविता लेख्न पनि सहज छैन ।
धेरै पढेको तर नबुझेको पुस्तक कुन हो ?
यस्ता धेरै पुस्तक छन् । शकंर लामिछाने र पारिजातको कृतिहरू दोहो¥याएर पढेकी छु । योबाहेक अन्य धेरै छन् । बेञ्जु शर्माकोे कथाहरू, अमर न्यौपाने, कृष्ण धारावासी लगायतका कृतिहरू पढ्दा मन छोएको छ । तर, मदनमणि दीक्षितको ‘माधवी’ धेरैपटक पढेर पनि नबुझेपछि पढ्नै छोडेँ ।
लेखक बन्न के कस्ता गुण चाहिन्छ ?
लेखकमा गुण–अवगुण दुवै हुन्छ । एउटा लेखकमा कोमलता, जटिलता तथा पे्रम, घृणा र त्याग सबै हुन सक्छ । लेखकले बिचार पोख्ने हो । त्यसैले आफ्नो विचार पोख्न सक्ने क्षमता लेखकमा हुनुपर्छ ।
तपाईँ लेख्दा केमा ध्यान दिनुहुन्छ ?
के लेखिरहेको छु, कस्तो बिषयबस्तु हो, कस्तो भुगोल कोरिरहेको छु भन्ने सोचेर लेख्ने गरेकी छु ।
पछिल्लो समय लेखक बढ्या–बढ्यै छन् तर पाठक घट्दैछन् नि ?
जहाँ लेखकको भिड हुन्छ, त्यहाँ पाठक घट्दैनन् । पढ्ने पढिरहेका छन् । आफ्नो रूचि अनुसारका किताबहरू सबैले पढेकै छन् जस्तो मलाई लाग्छ । त्यसो त अहिले सामाजिक सञ्जालमा अपडेट हुने चलन बढेको छ । त्यसले गर्दा पुस्तक पढ्ने पाठक घटेको हो कि भन्ने अनुमान गरिएको छ ।
तपाईँलाई कस्ता रचना एवं सिर्जनाहरू मन पराउनुहुन्छ ?
एउटा लेखकलाई सधैं लेखिरहन मन लाग्छ । हरेक पाठकको मन छुने सिर्जना गरिरहुँजस्तो लागिरहन्छ । त्यसैले पाठकले के कस्ता सिर्जना मन पराउनुहुन्छ, अबका दिनमा पाठकको मनोभाव बुझेर साहित्य सिर्जना गर्ने योजना बनाएकी छु ।