Logo
Logo

हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ : राष्ट्रियसभा अध्यक्ष


567
Shares

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तन र वातावरणीय सङ्कटको चुनौतीपूर्ण समयमा ड्रुक्पा परम्पराले देखाएको हरित अभियान र प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी योगदान प्रशंसनीय रहेको बताएका छन् । ड्रुक अमिताभ माउन्टेन (ह्वाइट गुम्बा)मा आजदेखि सुरु भएको दसौँ वार्षिक ड्रुक्पा काउन्सिललाई सम्बोधन गर्दै उनले ड्रुक्पा परम्पराले अघि सारेका प्रयासबाट सकारात्मक प्रभाव परेको बताए ।

‘नेपालजस्तै हिमाली देशका लागि पनि यस्ता अभियान विशेष महत्वका छन्, धार्मिक सहिष्णुता, आन्तरिक शान्ति र मानवताका लागि समर्पित जीवन जीउने प्रेरणाका लागि ड्रुक्पा परम्पराको योगदान विशेष रहेको छ’, अध्यक्ष दाहालले भने । उनले लैङ्गिक समानताको प्रवद्र्धन, पदयात्रा र साइकल यात्रामार्फत वातावरणीय अनुकूल र दिगो जीवनशैलीप्रति सचेतना जगाउने, सरसफाइ अभियान आयोजना र सबै प्राणीको हितका कार्यमा ड्रुक्पा परम्पराको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताए ।

अध्यक्ष दाहालले दसौँ वर्षमा प्रवेश गरेको वार्षिक ड्रुक्पा परिषद् ड्रुक्पा परम्पराको समृद्ध विरासत र यसको विश्वव्यापी प्रभावको उत्सवका रुपमा रहेको बताए । उनले परिषद् विभिन्न पृष्ठभूमिका मानिसलाई एकसाथ ल्याउने, सम्बन्ध गाँस्ने र प्रेरणा लिने मञ्च बनेको जनाए ।

ड्रुक्पा परम्पराले विश्वभरि शान्ति, सहिष्णुता र दयाभावको सन्देश फैलाउँदै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले यस परम्पराले आफ्नो धार्मिक शिक्षाबाट मात्र नभई पर्यावरणीय संरक्षण, सामाजिक सेवाभाव र मानव कल्याणको भावना संसारभरि फैलाउन भूमिका खेलेको बताए ।

प्रतिक्रिया दिनुहोस्