Logo
Logo

एआइजी बढुवाको लर्को, एसएसपी बढुवामा छैन वास्ता


11.4k
Shares

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीबाट एक वर्षमा आठ एआइजीको बढुवा सिफारिस मात्रै गरेन बढुवा गरेर आठ जनालाई घर पठाइसकेको छ । अबको तीन महिनापछि चार एआइजीसहित आइजी पनि घर जाने छन् । तर, चार महिनादेखि एसएसपी, एसपी र डिएसपी भने बढुवाको प्रतिक्षामा रहेका छन् । सरकारको ध्यान एआइजी बनाउनेमा केन्द्रित हुँदा एसएसपी, एसपी र डिएसपी बढुवा समयमा हुन सकेको छैन ।

गत कात्तिकयता एआइजीका रिक्त पदमा तीनपटक बढुवा निकालिसक्दा पनि एसएसपी बढुवामा गृह मन्त्रालयले चासो दिएको छैन । गृहमन्त्री रमेश लेखकले पनि केही प्रहरी अधिकृतहरूको कुरा सुनेर कामकाजी प्रहरीको वृत्तिविकासभन्दा एआइजी बनाउने र घर पठाउनेमा ध्यान दिएका छन् ।

पछिल्लो पटक सरकारले नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । त्यसमा दुर्गासिंह चन्द र भरतबहादुर बोहरा एआइजीमा बढुवा भइसकेका छन् ।

जसमध्ये बोहोरा यही १४ गते अर्थात आइतबार नै अवकाशमा गइसकेका छन् भने भदौ १६ अर्थात बुधबार एआइजी किरण बज्राचार्य पनि उमेर हदका कारण अवकाशमा जाँदैछिन् । बोहोरा र बज्राचार्यको स्थानमा सिफारिसको तयारी हुँदैछ । तर पनि एसएसपी बढुवाको लागि गृह मन्त्रालयले चासो दिएको छैन । प्रहरी महानिरीक्षक (आइजीपी) कुँवरले धेरै पटक एसएसपी बढुवाको कोसिस गरे पनि गृहमन्त्री लेखकले यस विषयमा चासो नदिँदा प्रहरीको कामकाजी दर्जाको वृत्ति विकासमा असर परेको छ ।

नेपाल प्रहरीमा यतिबेला एसएसपीको दुई पटक बढुवा हुनुपर्नेमा एक पटक पनि बढुवा नभइ पालो कुरेर बस्नु परेको अवस्था छ । एसएसपी बढुवाका लागि गृह मन्त्रालय र एसपी तथा डिएसपी बढुवाका लागि प्रहरी प्रधान कार्यालयले मुल्यांकन गर्छ । एसएसपी बढुवाका लागि गृहसचिवको संयोजकत्वमा मुल्यांकन हुनेछ भने एसपी र डिएसपी बढुवाका लागि प्रहरी महानिरीक्षक अध्यक्ष रहेको समितिले मुल्यांकन गर्नेछ ।

गत भदौयता २३ एसएसपीको पद रिक्त भएको छ । त्यसका लागि ४० एसपीहरू प्रतिस्प्र्धामा रहेका छन् । सबै आकांक्षीले शक्तिकेन्द्रबाट दबाब दिएपछि गृह मन्त्रालयले बढुवा निकाल्न नसकेको बताइएको छ । यसले एकातर्फ बढुवामा अस्वस्थ प्रतिस्पर्धा बढेको छ भने अर्काेतर्फ बढुवामा ढिलाइ हुँदा तल्लो तहसम्मको बढुवा प्रक्रियासमेत प्रभावित भएको प्रहरी अधिकृतहरूको गुनासो रहेको छ ।

गत भदौ १५ मै एसएसपीका १७ पद रिक्त भएका थिए तर, चार महिनासम्म ठुलो संख्यामा पदहरू रिक्त हुँदा कतिपय कार्यालयहरू समेत प्रभावित बनेको विषयमा प्रहरी प्रधान कार्यालय संवेदनशील बनेको भए पनि बढुवाका आकांक्षीहरू शक्ति केन्द्र धाएकोमा असन्तुष्ट बनेको छ ।

यसपटक २०५६ असार ३ र २०५८ साउन १८ मा इन्स्पेक्टरमा भर्ना भइ २०७५ फागुन १३ मा एसपी बढुवा हुने अधिकृत एसएसपी बढुवाका दाबेदार हुन् । जसमा गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल २०५६ का हुन् । रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, कृष्णप्रसाद कोइराला, जनार्दन जिसी, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपमसमशेर जबरा, श्यामकुमार महत्तो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बूढामगर छन् ।

यसमध्ये रानाभाट धनुषामा एसपी हुँदा लागु औषधको कारोबारीसँग आर्थिक लाभ लिएको भन्ने पुष्टि भएपछि उनी कारबाही सिफारिसमा परेका थिए । अहिलेकै आइजीपी कुँवर सचिवालयमा रहँदा कारबाही गर्न खोजिएको थियो । तर तत्कालीन अवस्थामा शक्तिकेन्द्रको दबाबमा परेपछि रोकिएको थियो ।

उनको ट्रयाक रेकर्ड राम्रो नभएको प्रहरी प्रधान कार्यालयको दाबी छ । उनलाई सरकारी वकिल कार्यालयले बयान लिनुपर्ने भन्दै सिफारिस गरेको थियो । साथै, एसपी थापा ललितपुर हनी ट्रयापकाण्डमा मुछिएका थिए । कँडेल पनि अपराध महाशाखामा इन्स्पेक्टर हुँदा यार्सा गुम्बा लुटपाटमा निलम्बनमा परेका थिए ।

प्रहरी महानिरीक्षकले कार्यक्षमता र कार्यसम्पादन मुल्यांकनमा कमजोर रहेकालाई अगाडि ल्याउन नमानेपछि अहिलेको बढुवा रोकिएको बताइएको छ । साथै, गृहसचिव गोकर्णमणि दुवाडीले पनि कार्यसम्पादन मुल्यांकनलाई आधार मानेर बढुवा गर्ने अडान लिएका थिए ।

‘शक्ति केन्द्रको दबाबमा गृह मन्त्रालयमा धर्ना दिने र नेताहरूको घरमा धाउनेहरूले कार्यसम्पादन मुल्यांकनमा अब्बल अधिकृतलाई पछि पार्न खोजेपछि आइजी कुँवरले नमान्दा एसएसपी बढुवामा केही ढिला भएको र आइजीको अडानमा गृहसचिव दुवाडीको पनि साथ रहेको छ । त्यसकारण यसपटकको बढुवामा विवाद आउदैन’, गृह मन्त्रालय स्रोतले भन्यो ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार त्यसबाहेक २०५६ असार ३ मा भर्ना मिति दोस्रो सूचीमा एसपी बढुवा हुने तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत पनि यसपटकको एसएसपी बढुवाका दाबेदार हुन् ।

२०५८ साउन १८ भर्ना मितिका इन्स्पेक्टर पनि बढुवाको प्रतिस्पर्धामा रहेका छन् । होविन्द्र बोगटी, बेद विष्ट, राजकुमार सिलवाल, सञ्जयसिंह थापा, शान्तिराज कोइराला, दयानीधि ज्ञवाली, प्रभु ढकाल, अमेरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, पदमबहादुर विष्ट, प्रवीण धिताल, प्रभुप्रसाद ढकाल र ऋषिराज कँडेल पनि प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्