Logo
Logo

आइजीलाई डिएसपीको चुनौती


45.4k
Shares

काठमाडौं । प्रहरीभित्र कमाण्डरलाई अटेर गर्ने बानी नौलो नभए पनि यसपटक डिएसपीले नै प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई अटेर गरिरहेका छन् । आर्थिक अनियमिताको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट प्रहरी प्रधान कार्यालय तानिएका डिएसपी नवीन पौडेलले शक्तिकेन्द्र धाएर आइजीलाई चुनौती दिएका हुन् ।

अनुसन्धानबाट बच्न मात्रै नभएर फेरि मालदार ठाउँमा जानका लागि उनी शक्तिकेन्द्र धाइरहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देही हाजिर भएको झण्डै दुई महिनामा उनी अनेकौँ काण्ड लागेर तीन साताअघि मात्रै प्रहरी मुख्यालय तानिएका थिए । उनलाई संगठित रूपमा तस्करी चलाएको, मातहतका थाना र चौकीहरूबाट रकम असुली गरेको, कार्यालय प्रमुख एसपी हुँदाहुँदै आँफै कार्यालय प्रमुखजस्तो गरी जिल्लाको प्रहरी प्रशासन चलाउने गरेकोजस्ता थुप्रै आरोप लागेपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँबरले नै प्रहरी मुख्यालय तान्न लगाएका थिए ।

काठमाडौं तानिएपछि अनुसन्धान र पर्न सक्ने कारबाहीबाट बच्न उनी राजनीतिक शक्तिकेन्द्रसँग नजिक हुन थालेको स्रोतले बताएको छ ।

पाल्पा पुर्खाैली घर भएमा पौडेल अहिले रूपन्देहीको सैनामैनामा स्थायी रूपमा घर बनाएर बसेका छन् । प्रहरी निरीक्षक हुँदा उनी रूपन्देहीको मात्रै नभएर नेपालभरकै अति उत्तम, राम्रो र धेरै अतिरिक्त कमाइ हुने बेल्हैयास्थित इलाका प्रहरी कार्यालयको प्रमुख भएका थिए । लुम्बिनी प्रदेशको सबैभन्दा बढी आयात–निर्यात मात्रै नभएर संगठित तस्करी हुने ठाउँको रूपमा चिनिएको बेल्हैयामा रहँदा उनले धेरै व्यापारीदेखि तस्करहरू सँग भेटघाट गरेको र उनीहरूकै आडमा नेपाल प्रहरीको उच्च तहलाई अटेर गर्ने तथा राजनीतिक लविङ गर्नेसम्मको काम गरेको चर्चा प्रहरीभित्र हुन थालेको छ ।

उनले यहाँ कार्यरत रहँदा भएको अतिरिक्त कमाइबाट प्रेरित भई डिएसपी भएपछि पनि फेरि त्यहीँ पुगेका थिए । एसपी रन्जितसिंह राठौरलाई समेत छलेर उनले एसपीलाई ओभरटेक गरेर जिल्ला चलाउन खोजेको जिप्रकामा कार्यरत प्रहरी निरीक्षकहरूले भन्ने गरेका छन् ।

पहिले बेल्हैयामा बसेको कारण उनले व्यापारी र तस्कर मात्रै होइन, मातहतका थाना चौकीका प्रमुखसम्मलाई थर्काउने, महिनावारी नदिनेलाई हटाउनेजस्ता कार्यहरू गर्न थालेपछि त्यसको गुनासो प्रहरी महानिरीक्षक कहाँ मात्रै नभएर हेलो सरकारसम्म पुगेको थियो ।

डिएसपी पौडेल सरूवा भएर आउने बित्तिकै आफ्नै जिल्लामा कार्यरत अर्का डिएसपी लक्ष्मी खनालसँग दुश्मनी भएको थियो । निरीक्षकमा व्याजी भए पनि डिएसपी हुँदा लक्ष्मी अगाडि भएकी थिइन् । लक्ष्मीभन्दा अगाडि जिल्लामा अर्को डिएसपी मनोहर भट्ट सिनियर थिए । उनको सरूवा भएपछि नवीन पौडेल पुगेका हुन् । भट्ट सरूवा भएपछि सिनियर डिएसपी भएकी खनाल पनि यस्तै असुलीमा जोडिएपछि हटेकी थिइन् । उनी आइजी कुँवरका आफन्त पनि भएको स्रोतको दाबी छ ।

तारे होटलमा मेरा पाहुना आउँछन भन्दै फोन गरेर हैरान पार्ने, माइती बुटवल भए पनि माइतीका पाहुना आउँछन् भनेर हैरान पार्ने गरेको उजुरी होटलवालाहरूले नै दिएका थिए । यस्तै काण्डमा परेर डिएसपी खनाल हटेकी थिइन् ।

त्यसपछि जिल्लामा एकछत्र पकड बनाएका डिएसपी पौडेलले आफ्नो मातहत मात्रै होइन, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखलाई समेत अनेकौँ बहानामा दुःख दिने गरेको पनि सार्वजनिक भएको थियो । यस्तै विवादमा तानिएपछि डिएसपी पौडेललाई प्रहरी मुख्यालयले पत्र पठाएर हटाएपछि अहिले ‘सबैलाई देखाइदिने हो’ भन्दै हिड्न थालेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्