Logo
Logo

म्याद थप्न डिआइजीको दौडधुप


8k
Shares

काठमाडौं । सशस्त्र प्रहरीमा चार डिआइजीको म्याद थपको विषयलाई लिएर दुई व्याचका प्रहरी अधिकारी बिच शीतयुद्ध शुरु भएको छ । चारजना डीआइजीहरू पदावधि पुरा गरेर पुस २३ मा घर जाने कि म्याद थप गर्ने भन्ने विषयमा सिसम १ का डिआइजीहरू अघिल्लो व्याचीलाई रोक्न शक्तिकेन्द्र धाउन थालेपछिे शीतयुद्ध शुरु भएको हो ।

भावी आइजीको दाबेदार डिआईजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा जान लाग्दा सशस्त्र प्रहरी मुख्यालयले म्याद थपको प्रस्ताव गरेपछि उनीहरू चेनअफ कमाण्ड उल्लंघन गरेरै राजनीतिक दलका नेताहरूको घर घरमा धाउन थालेका हुन् ।

माओवादीका नेताहरू हरिबोल गजुरेल र रेखा शर्माको फेर समातेर अघिल्लो पटक डिआइजीमा १ नम्बर र २ नम्बरमा बढुवा भएका सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेल अहिले कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूलाई आफूहरूलाई अन्याय हुने भन्दै म्याद थप रोकाउन कुदेको स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुखका रुपमा रहेका डिआइजी गिरी सो ब्याजको एक नम्बरमा छन् । धनकुटाका ठाडामगर नम्बर ३ बाहिनी बागमती प्रदेशको प्रमुख हुन् । उनी दोस्रो नम्बरमा छन् । नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर १ बाहिनी कोशी प्रदेशको प्रमुख छन् । सुवेदी हाल अमेरिका भ्रमणमा छन् भने नेम्बाङ सबै काम छाडेर काठमाडौँमा आएका छन् ।

२०८१ पुस २३ मा पदावधि पुरा गरेर अवकाश हुन लागेका उनीहरूको म्याद थपका लागि मुख्यालयले पठाइसकेको छ । ठाडामगर पनि यतिबेला काठमाडौँमा अड्डा जमाएर बसेका छन् । सशस्त्र प्रहरी नियमावलीअनुसार डिआइजी पदावधि चार वर्षको हुन्छ । उनीहरूलाई मुख्यालयको प्रस्तावमा सरकारले एक वर्ष म्याद थप गर्न सक्नेछ ।

सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डिआइजीको चारवर्ष अवधि पुरा गरेर अवकाश हुन लागेमा ‘सरकारले आवश्यक ठाने १ वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ । त्यही प्रावधानलाई टेकेर उनीहरूको म्याद थप हुने लागेको हो । उनीहरू सेवा प्रवेश गरेको पनि जम्मा २५ वर्ष मात्रै भएकाले सरकारले म्याद थपको प्रस्ताव अघि बढाइसकेको छ । यसअघि उपत्यकास्थित नम्बर ९ पशुपति बाहिनीमा कार्यरत डिआइजी किशोर प्रधानको म्याद थप गरिएको थियो । उनी थप गरिएको १ वर्ष पनि बिताउँदै माघ १० मा अनिवार्य अवकाशमा जान लागेका छन् । उनीहरूको म्याद थप हुन लागेपछि सिसम १ का अधिकृतहरू राजनीतिक दैलो चाहार्न थालेका थिए ।

डिआइजी अञ्जनी पोखरेलको नेतृत्वमा श्रेष्ठ र पुरुषोत्तम थापा उनीहरुको म्याद थप नगराउन विभिन्न सत्ताधारी दलका नेताहरुको घरमा पुग्ने गरेको रेकर्ड सशस्त्र प्रहरी मुख्यालयमा पुगेको छ ।
माओवादी नेताहरु हरिबोल गजुरेल र रेखा शर्माको फेर समातेर यसअघि बढुवा भएका श्रेष्ठ र पोखरेल पुन एमाले र कांग्रेसका नेताहरुको घर घरमा पुगेको भन्दै सशस्त्र मुख्यालयमा मौखिक उजुरी गरिएको छ ।

सशस्त्र प्रहरीले राजनीतिक भेटघाटलाई बन्द गरेको बेला डिआइजी पोखरेल र श्रेष्ठ र थापा दलका नेताहरुको घरमा पुगेर उनीहरुलाई रोक्न लागेका हुन् । ४ वर्ष अवधि पुरा भएका डीआईजीहरूको १ वर्ष म्याद थप भएको खण्डमा ३० वर्ष सेवा अवधि हटेपछि उनीहरु नेतृत्वमा पुग्ने बताइएको छ । म्याद थप गर्न प्रस्ताव गरिएका डिआइजीहरु भने प्रहरी महानिरीक्षक राजु अर्यालसँगको परामर्शमा रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्