काठमाडौं । संघीय संसदअन्तर्गत आज (बिहीबार) ६ वटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाका ४ र राष्ट्रिय सभाका २ गरी ६ वटा समितिको बैठक आज बस्न लागेका हुन् ।
जसमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दैछ । संसद् सचिवालयस्थित समितिको हलमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.व. २०८१/०८२ को कार्यक्रम तथा हालसम्मका प्रगतिबारे छलफल हुने कार्यसूची छ ।
त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने कार्यसूची छ ।
पूर्वाधार विकास समितिको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा जलस्रोत विधेयक, २०८१ बारे दफाबार छलफल गर्ने कार्यसूची छ ।
बिहान साढे ११ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनबारे छलफल हुँदै छ ।
त्यसैगरी, बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारिहरूसँग छलफल हुने छ । समितिले आज छलफलका लागि उद्योग मन्त्रीलाई बोलाएको छ ।
यस्तै, दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ बारे दफाबार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सभामुखले पटकपटक समिति सभापतिहरूसँग छलफल गरी समितिमा रहेका विधेयक टुंगोमा पु¥याउनेगरी छलफल गर्न आग्रह गरिरहेका छन् भने दलहरूले पनि सांसदहरूलाई समयमै विधेयक पास हुनेगरी काम गर्न भनेका छन्।