Logo
Logo

विश्वमा देशको नाम चिनाउन चाहन्छु


3.2k
Shares

पछिल्लो समय डा. डेनिला कार्कीको परिचय थपिएको छ । पेसाले दन्त चिकित्सक कार्कीले ‘मिसेस नेपाल वल्र्ड–२०२४’ को शीर्ष उपाधि जितेसँगै ‘मिसेस सुन्दरी’को उपमाले समेत चिनिन थालेकी छिन् । र, उनी ‘सेलिब्रेटी चिकित्सक’ बनेकी छिन् ।

एक दशकदेखि दन्त चिकित्कका रुपमा सेवारत कार्की भन्छिन्, ‘मिसेस नेपाल भनेर चिनिँदा धेरै खुशी लागेको । यो मेरो मिठो अनुभव पनि हो ।’ ३१ वर्षीया डा. कार्कीले अमेरिकामा आयोजना हुने ‘मिसेस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्दैछिन् । उनी भन्छिन्, ‘पहिले डाक्टर भनेर मात्र चिन्थे, अब मिसेस नेपाल भनेर संसारभर चिनिन चाहन्छु ।’

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेकी कार्की भन्छिन्, ‘धेरै विवाहित महिलाहरू घरको चुलोचौकोमा अल्झिरहको अवस्थामा घरबाहिर पनि केही गर्न सक्छौँ भन्ने उदारण दिन जरुरी छ ।’ डा. डेनिला कार्कीसँग रेजिना पाण्डेको जम्काभेट ।

पेशाले दन्त चिकित्सक तपाईँलाई ग्लामरस क्षेत्रमा रूचि कसरी जाग्यो ?
सानैदेखि ग्ल्यामरस क्षेत्रमा मेरो रूचि थियो । तर, पढाइ र विवाहपछि बच्चाले गर्दा त्यतातर्फ ध्यान दिन पाइनँ । मेरो रहर र इच्छा सबै अड्किएको थियो । अहिले आएर घर परिवारलाई भनेरै उहाँहरूको सल्लाह र सुझावले यो क्षेत्रमा आउन सफल भएँ ।

ग्ल्यामरस क्षेत्रमा लाग्न घरपरिवारको समर्थन कसरी पाउनुभयो ?
सुरुमा अलि गाह्रो भयो । तर, कन्भिन्स गराएँ । सासुआमाले मेरो कपडा मिलाइदिनेदेखि यत्तिको लगाउँदा ठिक हुन्छ भनिदिने र ससुराले फोटो खिचिदिने गरिदिनुभयो । श्रीमानले पनि सल्लाह दिनुभयो । मैले विवाहपछि नै डाक्टर पढाई पूरा गरेको हुँ । एक किसिमले भन्ने हो भने म भाग्यमानी बुहारी हुँ ।

नयाँ परिचय र जिम्मेवारी थपिँदा कस्तो अनुभव भएको छ ?
एकदमै खुसी छु । मलाई यसअघि एकजना डाक्टर भनेर मात्र चिन्थे । अहिले मिसेस नेपाल भनेर चिनिँदा खुशी लाग्छ । यो मेरो मिठो अनुभव पनि हो । यस क्षेत्रमा मलाई बाल्यकालदेखिकै रहर थियो । ढिलै भए पनि मेरो सपना पुरा भएको छ ।

विवाहित महिलाबिचको प्रतिस्पर्धामा तपाईँले नै कसरी जित्नुभयो ?
हरेक प्रतिस्पर्धामा जित्ने सोच राखेरै गइन्छ । म पनि यो कार्यक्रममा जित्छु, केही कुरा सिक्छु भनेरै गएकी थिएँ । मैले यो कार्यक्रमबारे दुई वर्ष अघिदेखि नै रिसर्च गर्दै आएकी थिएँ । कार्यक्रममा जाँदा के गर्ने ? कतिको कन्फिडेन्ट हुने ? के गर्दा राम्रो हुन्छ, सबै ध्यान दिएकी थिएँ । र, म सफल पनि भएँ ।

‘मिसेस नेपाल वल्र्ड’बाट के सिक्नुभयो ?
विवाहित महिलाहरू घरको चुलोचौकामा मात्र अल्झिरहेको अवस्थामा घरबाहिर पनि केही गर्न सक्छौँ भनेर उदाहरण दिन जरुरी रहेको बेला यो कार्यक्रम एउटा ठूलो अवसर रहेछ भन्ने लाग्यो । यस्तो प्रतियोगिताबाट कमजोर होइन, कन्फिडेन्ट बनाउँदोरहेछ । यो कार्यक्रमबाट मैले सेल्फ केयरदेखि धेरै कुराहरू सिक्ने मौका पाएँ ।

तर, यस्ता कार्यक्रमहरूले आफनो मान्छे छनोट गर्छ, सौन्दर्य प्रतियोगिता एउटा विकृति हो भन्ने आरोप छ नि ?
जहाँ पनि सकारात्मक र नकारात्मक कुरा हुन्छ । यस प्रतिस्पर्धामा जाँदा मैले कोही चिनेको थिइनँ । मेरो माइती र घरमा आजसम्म यस क्षेत्रमा कोही छैन । हरेक क्षेत्रको आफनो विशेषता हुन्छ । यस क्षेत्रको पनि आफ्नो विशेषता छ । तर, यसलाई मान्छेहरू कसरी लिन्छन भन्ने कुरा मात्र हो ।

‘मिसेस वल्र्ड’मा भाग लिँदै हुनुहुन्छ । के छ तयारी ?
हो, यही आउने जनवरीको अन्त्यतिर कार्यक्रममा सहभागी हुन अमेरिका जाँदैछु । हेराँै, म प्रयास गर्छु । देशको नाम र झण्डा फहराउने मेरो प्रयास हुनेछ । सबैबाट हौसला र साहस पनि पाएकी छु । देशको प्रतिनिधित्व गर्दै अमेरिका जान पाउनु मेरो लागि अवसर मात्र नभएर गर्वको कुरा पनि हो ।

अमेरिकामा नेपालबारे के बोल्नुुहुन्छ ?
म दन्त चिकित्सक भएकाले हेल्थसम्बन्धी नै केही गर्ने र बोल्ने योजना बनाएकी छु । नेपालको दुर्गम क्षेत्रहरूमा गएर स्वास्थ क्याम्प, चेतना फैलाउने र नेपालको पर्यटन क्षेत्रलाई कसरी चिनाउन सकिन्छ भन्ने विषयमा योजना बनाउँदै छु ।

पेशासँग मिल्ने एउटा प्रश्न सोधौँ, प्रायः हरेक मानिसलाई किन दाँतको समस्या हुन्छ ?
खासगरी, खानपिनले गर्दा यो समस्या आएको हो । घरेलु खानाभन्दा जंकफुड बढी खाँदा दाँतलाई समस्या हुने गर्छ । राम्ररी ब्रस नहुनु, दाँत दुखेपछि मात्र चेकअप गर्नु जस्ता कारणले समस्या बढ्दै जान्छ । बेलाबेलामा दाँतको विषयमा डाक्टरसँग परामर्श लिइराख्नु जरुरी हुन्छ ।

अन्तरजातीय विवाह गर्नुभएको छ । कतिको सहज छ ?
सुरुमा गाहै्र थियो । डर पनि । म क्षेत्रीको छोरी, उहाँ राजभण्डारी नेवार समुदायको हुनुहुन्छ । तर, विस्तारै सबैले साथ, सपोर्ट र माया गर्न थाल्नुभयो । म आफूलाई निकै भाग्यमानी सम्झन्छु । किनकि, सासु, ससुरा र श्रीमानको राम्रो साथ पाएको छु । मेरो श्रीमान सिनियर दन्त चिकित्सक हुनुहुन्छ ।

भविष्यको योजना के छ ?
चिकित्सक सेवालाई नै निरन्तर दिने सोच छ । साथै, कला क्षेत्रको कुरा गर्दा अभिनय गर्ने मन छ ।

प्रतिक्रिया दिनुहोस्