Logo
Logo

कठ्याग्रिँदो जाडोको पर्बाह नगरी विद्यालयमा ट्राफिक शिक्षा बाँड्दै इन्स्पेक्टर रन्जु केसी


7.6k
Shares

भैरहवा । हुस्सु र कुहिरोले धपक्कै ढाकेको पश्चिम तराईको भैरहवाको सडकमा बेला बेला झुल्किने घामको उज्यालोसँगै सडकमा खटिने रन्जु केसीको टिम कहिले विद्यालय त कहिले सडकमा देखिन्छ । १७ डिग्रीको मात्रै तापक्रम भएको मौसमी प्रतिकुलताको पर्बाह नगरी टाउकोमा सेतो ह्याट, निलो रङको सेतो लाईनीङ भएको पोसाकको काँधमा क्रस खुकुरीको बिल्ला सहित उनी दौडिरहेकी देखिन्छन् । कठ्याग्रिँदो जाडोको पर्बाह नगरी उनी बिहानैदेखि साँझ सम्म सडक र विद्यालयमा ट्राफिक शिक्षा बाडिरहेका छन् । 

यसै हप्ता मात्रै उनले भैरहवाको काशी नोबल एकाडेमि स्कुल र भैरहवा नमुना उच्च माध्यमिक विद्यालयका विद्यार्थिहरुलाई २।२ घन्टा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको बारेमा बढाए । काशीमा कक्षा ११ का ३० जना भन्दा बढी विद्यार्थिहरु सहभागी थिए भने भैरहवा उच्च माविमा विज्ञान, आर्ट्स, कमर्स, शिक्षा संकायका ९४ जना विद्यार्थिहरु सहभागी भएका थिए । 

समय मिलाएर विद्यालयमा विभिन्न संघसंस्थाको समन्वयमा हुने ट्राफिक सचेतना सम्बन्धी गोष्ठीमा आफू जाने गरेको उनले बताए । उनले भने, ‘ट्राफिक सचेतना, सडक दुर्घटना न्यूनीकरण बारेमा विद्यार्थिहरुलाई सम्झाउन सके, बुझाउन सके त्यसको असर सडकमा देखिने हुन्छ । यसैले सडकसँगै विद्यालयहरुमा पनि कक्षा लिन थालेको हो । ’

ट्राफिक इन्स्पेक्टर रन्जुको पढाउने शैलीले विद्यार्थिहरु पनि लाभान्वित भएको भैरहवा नमुना उच्च माविका प्राचार्य चुन्न प्रसाद पाण्डेले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको कार्यालय प्रमुख समेत रहेकी उनलाई जिल्ला भरीको ट्राफिक व्यवस्थापन अर्को कार्यभार हो । 

जिल्लामा पाँच दर्जन भन्दा बढी सुरक्षाकर्मीको सडकमा खटनपटन पनि उनको जिम्मेवारी हो । शालीन र मिजासिलो स्वभावकी २९ वर्षीय युवति रन्जुको काम गर्ने शैली पनि गज्जबको छ । उनको सडकमा हिड्ने यात्रुहरूसँगको व्यवहार पनि अनुकरणीय छ । मुस्कान सहितको सेवाको पर्यायवाची बनिरहेकी छन् यति बेला रन्जु ।

प्रतिक्रिया दिनुहोस्