Logo
Logo

पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालक शव पाँच दिनपछि भेटियो


- दृष्टि न्युज/संवाददाता

0
Shares

पर्वत, ३ असार । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो ।

गत शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए । गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मङ्गलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए ।

पहिरोमा परी मृत्यु भएका तुलबहादुर थापाको परिवारका चार र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको सङ्गम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबारै सामूहिक अन्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ ।

दुर्लुङमा शनिबार राति दुई घण्टासम्मको मुसलधारे वर्षापछि गएको पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती ५२ वर्षीया मीनाकुमारी थापा, छोरी ३४ वर्षीया दिर्पा थापा, नातिनी ११ वर्षीया बिबिशा थापा, नातिहरु १५ वर्षीय सम्राट थापा र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो । यसैगरी पहिरोमा परेर २८ वर्षीया कमला विकका आठ वर्षीया छोरी प्रमिशा विक र १४ वर्षीय छोरा जेनिश विकको मृत्यु भएको थियो ।

यसैबीच बालकको खोजीका लागि आज बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुर्लुङ गाउँ कमिटीको अगुवाइमा शव खोजी गर्दा घरभन्दा तल चौतारी नजिक शव भेटिएको नेकपाका नेता डोलराज शर्माले जानकारी दिनुभयो । गाउँ कमिटीको अगुवाइमा शव खोजी गर्ने क्रममा कमिटीका अध्यक्ष खड्गबहादुर गुरुङले शुरुमा देखेको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्