Logo
Logo

ओलीको अभिव्यक्तिप्रति विश्वप्रकाशको आपत्ति


3.3k
Shares

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधनबारे प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइमा विमति जनाएका छन् ।

बुधवार झापाको कचनकवलमा आयोजित नेपाली कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने भनाइप्रति विमति जनाएका हुन् ।

महामन्त्री शर्माले सबै राजनीतिक दलहरुलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरुरी रहेको बताए । ०८७ मै संविधान संशोधन गर्ने भए पनि कांग्रेस र एमालेको छलफलपछि मात्रै त्यसो भन्न पाउने उनले बताए ।

बिनाछलफल ०८७ मा संविधान संशोधन गर्छौं भन्ने हक एमाले पार्टीका अध्यक्ष र कांग्रेसको महामन्त्री कसैलाई पनि नरहेको जिकिर उनले गरे । सरकारमा रहेका दुई राजनीतिक दलले सहमति र छलफल नगरी कसैलाई पनि संविधान संशोधनको मिति तोक्ने अधिकार नरहेको स्पष्ट पारे ।

उनले सातबुँदे समझदारीताका संविधान संशोधन आजको आवश्यकता भएकाले यही जगमा पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेको स्मरण गरे ।

‘संविधान संशोधनको ढोका खोल्ने सातबुँदे समझदारीमा लेखिएको छ। संविधान संशोधन गरिरहँदा के हो नागरिकको अपेक्षा ? के हो पार्टीका साथीहरुको अपेक्षा ? गाउँगाउँको अपेक्षा के हो ? अध्ययन गरेर ल्याउनुपर्छ‚’ उनले भने, ‘चर्चामा रहेको जस्तो १६५ को संख्यालाई सय, सवा सयमा सीमित गरौँला त्यो ठूलो कुरा होइन। समानुपातिकलाई व्यवस्थापन त गर्नु नै छ। सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको मैले सुनेँ यदि उहाँले नेकपा एमालेको बैठक हुँदैगर्दा भन्नुभएको संविधान संशोधन त २०८७ मा हुन्छ भनेर भन्ने हो भने त्यसमा म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु ।’

संविधान संशोधन गर्नका लागि गणितीय रुपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा नरहेको पनि उनले स्पष्ट पारे। उनले संविधान संशोधन गर्न राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रको सहभागिता आवश्यक रहेको भन्दै माओवादी केन्द्रबिना दुई तिहाइको गणित नपुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्