Logo
Logo

साहुको पैसा लुकाउन लुटपाटको नाटक


1.9k
Shares

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले साहुको पैसा लुकाउन लुटपाटको नाटक गर्ने एकजना बोलेरो चालकलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बस्ने २६ वर्षीय समसुद्दीन आलमलाई ठगी, आपराधिक विश्वासघात, र झुटो सूचना दिएर अफवाह फैलाएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पुस २२ गते साँझ ७ बजे आलम र सहचालक बाराको कलैया उपमहानगरपालिका ७ का २४ वर्षीय अमिर श्रेष्ठसहित बोइलर कुखुरा ल्याउन वीरगन्जबाट राजविराज आउँदै थिए ।

सोही क्रममा रुपनी गाउँपालिका वडा नम्बर १ स्थित राजविराज–रुपनी सडक खण्ड अन्तर्गतको रायपुरमा दुईवटा मोटरसाइकलमा आएका चार हतियारधारीले गाडी रोकेर गाडीको साँचो सहित ३ लाख ८० हजार लुटेर लगेको घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

सप्तरी प्रहरी घटनास्थलमा पुगेर जाँच गर्दा गाडीको साँचो त्यही फेला परेको थियो ।

अनुसन्धान गर्दै जाँदा बोल्न र सुन्न नसक्ने बोलेरोका सहचालक श्रेष्ठले इसारामार्फत आलमले पैसा आफ्नो घरमा लुकाएको संकेत गरेपछि प्रहरी वीरगन्जस्थित आलमको घरबाट ३ लाख ८० हजार फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

उनले आलमले साहुबाट कुखुरा खरिदका लागि दिएको रकमका लागि लुटपाटको नाटक गरेको स्वीकार गरेको बताए ।

पक्राउ परेका आलममाथि ठगी, आपराधिक विश्वासघात, र झुठा सूचना फैलाएको अभियोगमा अनुसन्धान थालिएको छ ।

प्रहरी उपरीक्षक खतिवडाका अनुसार आलमलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्