पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको मुद्वामा प्रतिवादीहरुको थुनछेक बहस सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको मुद्वामा बुधबार प्रतिवादीहरुको तर्फबाट बहस सकिएको हो।
बुधबार नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको बहससँगै प्रतिवादीको तर्फबाट सकिएको हो।
मंगलबारदेखि रामबहादुरतर्फको बहस सुरु भएको थियो। बुधबार उनीसहित बाँकी तीन जनाकोतर्फको बहस सकाएर जवाफी बहस सुुरु भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए। ‘जाहेरवालाको जवाफी बहस पनि सकिएको छ। भोलि सरकारी वकिलको तर्फबाट बहस हुनेछ’, अधिकारीले भने, ‘सम्भवत भोलि साँझसम्म थुनछेक आदेश आउन सक्छ।’
सहकारी पीडितका तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, हरि कट्टेल, रमन कर्ण र बिबी विष्टले बहस गरेका थिए।
सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते जिल्ला अदालत कास्कीमा ४४ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दायर गरेको हो।
पूर्वगृहमन्त्री रवि लामीछाने, पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको वयान लिएसँगै गत हप्ताको मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो।
सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा बचतकर्ताले प्रहरीमा उजुरी दिएपछि गतवर्षको असोज १८ गते जिबी राईलगायत १९ जनाविरुद्ध मूल मुद्दा दर्ता भएको थियो। जिबी राईसहित १९ जनाविरुद्ध पुस ५ गते पनि थप अभियोजन दर्ता गरिएको हो।