काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछाने आज (शुक्रबार) काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं अदालतमा उपस्थित हुन लागेका हुन् ।
कास्की जिल्ला अदालतको आदेश अनुसार बिहीबार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी कास्की प्रहरी हिरासतबाट रिहा भएका थिए । अदालतबाट छुटेपछि प्रहरीले अस्पतालमा स्वास्थ्य परीक्षण गराएर उनलाई परिवारको जिम्मा लगाएको थियो ।
उनीसँगै पूर्वडीआइजी छविलाल जोशी, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, उनका बुवा कृष्णप्रसाद गुरुङ र आरती गुरुङ धरौटी बुझाएर रिहा भएका छन् । लीला पछाईं भने धरौटी बुझाउन नसक्दा कास्की कारागार चलान भएकी छिन् ।