काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताका लागि नेपाल पे क्युआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
यो सेवामार्फत अलिपे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपाल पे क्युआर रहेका व्यवसायमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन् । अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।
सम्झौतासँगै, नेपालमा उपलब्ध नेपाल पे क्युआर र यसको इन्ट्रोपेरेवल क्युआरलाई अलिपे प्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तर्देशीय भुक्तानी गर्न सक्नेछन् ।
यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ ।