प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केही समयअघि एक कार्यक्रममा भनेका थिए– ‘हामीले चाहिने खालका काम गर्नुपर्छ । बाघ साढे तीनसय पाल्ने होइन, डेढसय भए पुग्छ । उपहार दिऔँ, हाम्रा मित्रहरूलाई ।’ सम्भवतः देशका कार्यकारी प्रमुखले यसरी कुनै कुरा धेरै भएको महसुस गरेको भनेको यही एउटा बाघ हो ।
देश भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेको छ । बेरोजगारी बढेको बढ्यै छ । मूल्यवृद्धि आकासिएको छ । हत्या हिंसा रोकिएको छैन । जनताको निराशाले शिखर छोएको छ । तर यी सबै धेरै भएको शासकले महसुस गरेका छैनन् ।
देशमा घटाउनुपर्ने कुरा धेरै छन् । त्यसको पहिलो नम्बरमा पर्छ राजनीति दल र नेता । निर्वाचन आयोगको तथ्याङ्कअनुसार अहिले देशमा १२१ दल छन् । नयाँ–नयाँ दल जन्मने र नेता बन्ने होड जारी छ ।
दल मात्रै होइन, दलका भातृ संगठन कति हो कति । विद्यार्थी संघ, तन्नेरी संघ, महिला संघ, पत्रकार संघ, कर्मचारी संघ, टोलैपिच्छे संघ, जातैपिच्छे संघ, धर्मैपिच्छे संघ । रोजगार पाउनेको संघ, रोजगार नपाउने संघ, संघैपिच्छे नेता, प्रदेश–प्रदेशमा नेता, जिल्ला–जिल्लामा नेता, गाउँ–गाउँमा नेता । घरैपिच्छे नेता, तैँ नेता, मै नेता । सबै नेता ! नेतै नेता ! खासमा बढी भएको नेता हो । तर, नेता बाघ बढी भएको देख्छन् ।
नेपालीमा एउटा उखान छ– ‘बिरालो बढी भए मुसा मार्दैन ।’ यो उखान ठ्याक्कै हाम्रो राजनीतिसँग मेल खान्छ । जति नेता भए पनि सिन्को भाँच्न सकेका छैनन् । कुरा मात्रै ठूल्ठूला । त्यसैले नेता देख्नासाथ जनताले नाक खुम्च्याउने अवस्था आएको छ । नेताहरू घृणाको पात्र बन्दै गएका छन् । जनताको मनबाट टाढिँदै छन् । सुरक्षाबिना घरबाट निस्किए जनताले ढुंगाले हानेर मार्लान् भन्ने त्रास पैदा भएको छ !
कुनैबेला देश बचाउँदा देशभक्ति हुन्थ्यो । अहिले जसले बढी नेतालाई गाली गर्न सक्छ, ऊ देशभक्त हुन्छ ! देशप्रेमी हुन्छ ! यसको मुख्य कारक नेता नै हुन् । नेताकै कुकर्म हो । नेतादेखि जनता वाक्कदिक्का छन् । नेताप्रति चरम वितृष्णा छ । देशका कुनाकाप्चा सबैतिर एउटै बहस चलेको देखिन्छ– ‘नेपाल अब कहिल्यै बन्दैन, नेपाल बनाउने कोही भएनन्, दलहरूले देश बिगारे, नेताहरू भ्रष्ट भए ।’
राणा शासनदेखि संघीय गणतन्त्रसम्म स्थापना गर्न लामो संघर्ष गरेका नेताका महत्त्वपूर्ण योगदानलाई कदापि भुल्न हुँदैन । तर, नेताले आफ्ना आदर्श, सिद्धान्त र संघर्षका गाथा बिर्सिसके । सबै व्यक्तिगत स्वार्थमा केन्द्रित भएका छन् । जसले गर्दा नेता घृणित हुँदै गएका छन् ।
गाउँ–गाउँमा बाघको त्रास बढेकै छ । बाघले जनतालाई दुःख दिएको कुरा सत्य हो । तर, बाघले भन्दा बढी नेताले दुःख दिएको तथ्य हो । जनताको रगत बाघले भन्दा बढी नेताले खाएका छन् ! बाघको भन्दा पहिले नेता घटाऔँ !
जनतालाई राजनीतिक अधिकारले मात्र पुग्दैन । सुरक्षा, खाद्यान्न र शान्ति अपरिहार्य सर्त हो । व्यवस्था मात्रै परिवर्तन भएर पुग्दैन, जनताको अवस्था पनि परिवर्तन हुन जरुरी छ । नेता र दलहरूले देशका लागि कहिल्यै सोचेनन् । सत्ता मात्रै सोचे । पार्टी र कार्यकर्ताको मन्त्री-प्रधानमन्त्री-राष्ट्रपति बने । उनीहरू जनताका भएनन् । जुनसुकै शासन व्यवस्था आए पनि दलहरूले जनतालाई रैती सम्झिए । आफूलाई बिर्तावाल माने । अहिलेको यथार्थ यही हो ।
सधैँ मिलीजुली सरकार । पालैपालो देश चुसिरहे । जसले गर्दा देशमा दुर्दशा थपिँदै गयो । जनस्तरमा निराशा बढ्यो । तर, नेताहरू भने देश कायापलट गर्ने फतुर गफ लगाउन छाड्दैनन् । बिरालोले दिसा लुकाएजस्तो आफूले बिगारेका छरपस्ट यथार्थहरू लुकाए । देश सप्रेको भ्रामक आँकडा गर्वका साथ प्रस्तुत गरिरहे । जनतालाई बग्रेल्ती सपना देखाए । कामको सिन्को सारेनन् । जनतालाई मूर्ख बनाउन कुनै कसर बाँकी राखेनन् ।
युवा बिक्री भएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ । आफ्नो घर र पार्टी धान्न नेताले देश बेच्दै छन् ! देशको स्वाभिमान बेचिएको छ । देशको समस्याको बोझ उठाउनुपर्ने नेताहरू नै देशको लागि बोझ भएका छन् । व्यवस्था र पात्र नयाँ भए । तर, प्रवृत्ति उही पुरानै रह्यो । योभन्दा दुःखको विषय अरू के हुन सक्छ र ? यो देशको लागि ठूलो विडम्बना हो ।
पञ्चायतको विकल्पमा गणतन्त्र आयो, नेताको विकल्पमा नेता आए, दलको विकल्पमा दलहरू आए, र मुलुकको विकासको लागि सबै असफल रहे । दल र नेताहरू सफल हुँदा मुलुकको विकासले फड्को मार्न सकेन । तन्त्र फेरिए, शासकहरू फेरिए । देश देश फेरिएन । जनताको अवस्था फेरिएन । अपराध, बेथिति, विसंगति, बेरोजगारी, भ्रष्टाचार र कुसंस्कार झनै मौलायो । यसैले देश बिलखबन्दमा छ, निकास पर्खिराखेको छ ।
देशमा व्यवस्था परिवर्तन भयो । तर, जनताको अवस्था भने ज्युँका त्युँ छ । जनताले सिद्धान्त र वाद खोजेको होइन । सुशासन खोजेका हुन् । रोजगारी, स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य, विकास, सुरक्षा र मेलमिलाप खोजेका हुन् ।
अब, बाघकै प्रसंगमा फर्कौँ । गाउँ–गाउँमा बाघको त्रास बढेकै छ । बाघले जनतालाई दुःख दिएको कुरा सत्य हो । तर, बाघले भन्दा बढी नेताले दुःख दिएको तथ्य हो । जनताको रगत बाघले भन्दा बढी नेताले खाएका छन् । बाघका कारणभन्दा नेताका कारण बढी जनता मारिएका छन् ।
हरेक वर्ष विदेशमा सरदर एक हजार नेपालीको मृत्यु हुन्छ । देशमा रोजगारी नपाएपछि विदेश नगई धर छैन । घरको आश बोकेर गएकाहरू लास भएर फर्कने गरेका छन् । यसको मुख्य कारक राज्यसत्ता हो । राज्य चलाउने राजनीतिक दलले हो । दल चलाउने नेता हुन् ।
बाघ अरू देशलाई उपहार दिन मिल्छ । तर, नेता दिन नमिल्ने । अहिलेको राष्ट्रिय आवश्यकता साढे तीन दशकको अनुत्पादक नेतृत्वबाट पूर्णमुक्ति हो । यसमा मुख्य दलका सबै नेता पर्छन् । त्यसैले अबको साझा प्रयत्न बाघभन्दा पहिला ‘थारो नेता’ घटाउने हुनुपर्छ ।