Logo
Logo

पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम


252
Shares

काठमाडौँ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा विविध कार्यक्रम आयोजना गरिएको छ । प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ‘नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको देन, नेपाली सेना र राष्ट्रियता’ तथा ‘पृथ्वी नारायण शाहको दिव्योपदेश’सम्बन्धी प्रवचन, ‘एकताको बीज’ नामक लघु नाटक प्रदर्शन र कविता प्रस्तुत गरिएको थियो ।

समारोहमा प्रमुख सेनानी चन्द्रशेखर काप्रीले ‘जन्मेर आउ’, उपसेनानी बलदेव केसीले ‘राष्ट्र निर्माताको देन’ र प्राविधिक जम्दार देवीप्रसाद बरालले ‘एकताको मियो’, सैनिक आवासीय महाविद्यालय भक्तपुरका छात्र उत्सव आचार्यले ‘पृथ्वी सन्देश’, राष्ट्रिय सेवादलका क्याडेट तात्रा सलिना खड्काले ‘नेपालः एकता र साहसको प्रतिविम्ब’ र रोशनी तण्डुकारले ‘मेरो घर, मेरो महिमा’शीर्षकको कविता प्रस्तुत गरे ।

सो अवसरमा इतिहासविद् प्राडा राजाराम सुवेदी र प्राध्यापक डा त्रिरत्न मानन्धरले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका र उनको दिव्योपदेशसम्बन्धी प्रवचन दिएका थिए । समारोहमा प्रधान सेनापति सिग्देलले कविता प्रतियोगितामा सकल दर्जा र सैनिक महाविद्यालय र राष्ट्रिय सेवादलतर्फ उत्कृष्ट हुनेलाई पुरस्रकार र प्रमाणपत्र तथा प्रवचनकर्तालाई प्रसंशापत्र प्रदान गरे ।

उपरथी दीपककुमार बानियाँले पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले प्रत्येक वर्ष जङ्गी अड्डादेखि युनिट तहसम्म विविध कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिए । यसवर्षको पृथ्वी जयन्तीका अवसरमा शाहको जीवनी, दिव्योपदेशसम्बन्धी ५२ वटा प्रवचन, चार वटा पदयात्रा कार्यक्रम, २६ वटा अनुसन्धानात्मक आलेख, कविता, वक्तृत्वकला प्रतियोगिता, दौड र विभिन्न पेसागत कला प्रदर्शन भएका छन् । सेनाले सञ्चालन गरेको विविध क्रियाकलापमा करिब ११ हजार पाँच सय फौज प्रत्यक्षरुपमा सहभागी भएको थिए ।

उपरथी बानियाँले जङ्गी अड्डा तहमा सैनिक महाविद्यालयस्तरीय लघु नाटक प्रतियोगिता, सकल दर्जा, सैनिक महाविद्यालय र राष्ट्रिय सेवा दलका क्याडेट सम्मिलित कविता प्रतियोगितासमेत सञ्चालन गरिएको जानकारी दिए । नेपाली सेनाले पृथ्वी नारायण शाहलाई आफ्नो संस्थापक मान्दै आइरहेको छ ।

‘दिवसका सन्दर्भमा गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रालाई निरन्तरता दिइएको छ । प्रत्येक वर्ष सञ्चालन हुँदै आएको ऐतिहासिक साँगुरीगढी पदयात्रा कार्यक्रम यसवर्ष सुनसरीको फुस्रेबाट धनकुटाको पाख्रिबाससम्म थप गरी सञ्चालन गरिएको छ’, कार्यरथी बानियाँले भने ।

सेनाले पहिलो पटक उदयपुर जिल्लामा उदयपुरगढी–चौदण्डीगढी पदयात्रा र इलाममा इलाम नगरपालिका, जोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको अगुवाइ र नेपाली सेनाको संयोजकत्वमा नेपाल–भारत सीमानामा पर्ने छब्बीसेदेखि माइस्थानसम्म करिब ३९ किमी दूरीको निशान पदमार्ग पदयात्रा कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्