काठमाडौं । नेकपा एमालेका पूर्व नेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचार विरुद्धको लडाई कमजोर नहुने बताएका छन् ।
राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले तानासाही ढङ्गले एमाले नेतृत्व केपी शर्मा ओलीले आफूलाई निष्कासन गरेको भन्दै एमालेले निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय अत्याचारविरुद्ध र देशभक्तिको झन्डा माथि उठाउने उत्साहमा कमी नहुने बताए ।
रावलले एमाले नेतृत्वको स्वेच्छाचारी, राष्ट्रिय हित विपरीतका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य नभएको जिकिर गरे । उनले आफूलाई बदनाम गर्न राजावादी भएको प्रचार गरिएको समेत उल्लेख गरे ।
देशभक्तसँग हातेमालो गर्दै अघि बढ्ने र मातृभूमि जागरण अभियानलाई सशक्त बनाउने जिकिर गर्दै उनले देशको आवश्यकता भए वैकल्पिक शक्ति निर्माण गर्न सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।