काठमाडौं । सरकारले स्थानीय तहका प्रमुख, उपप्रमुख वा अध्यक्ष, उपाध्यक्ष दुवै पद रिक्त वा निलम्बनमा परे कार्यवाहक तोक्न सक्ने व्यवस्था मिलाएको छ । कार्यपालिका सदस्यमध्येबाटै कार्यवाहक प्रमुख तथा उपप्रमुख तोक्न सक्ने व्यवस्था गरिएको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधन गर्ने गरी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको छ । सो अध्यादेशमा प्रमुख, उपप्रमुख वा अध्यक्ष, उपाध्यक्ष दुवै पद रिक्त, अथवा निलम्बनमा परे कार्यवाहक तोक्न सक्ने नयाँ व्यवस्था गरिएको हो ।
‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा संशोधन गरी कुनै स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष वा प्रमुख र उपप्रमुख दुवै निलम्बनमा परेमा वा कुनै कारणले दुवै पद रिक्त भएमा कार्यपालिकाका सदस्यहरूले आफूहरू मध्येबाट छनोट गरेको सदस्यले कार्यवाहक अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख भई काम गर्ने,’ अध्यादेशमा उल्लेख छ ।
त्यस्तै, कुनै वडाअध्यक्षको पद कुनै कारणले रिक्त भएमा वा निलम्बनमा परे वडा समितिका सदस्यले आफूहरूमध्येबाट छनोट गरेको सदस्यले कार्यवाहक वडाअध्यक्ष भई कार्य गर्ने अध्यादेशमा उल्लेख छ । यो अध्यादेश सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ भने राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ ।