काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू हुनेछ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाडेर मुद्दा लड्न दिने भन्नेबारे आज सरकारपक्ष र विपक्षी वकिलहरूबीच बहस हुने भएको हो ।
आइतबार लामिछानेको बयान लम्बिएपछि थुनछेक बहस हुन सकेन । त्यसपछि न्यायाधीश अधिकारीले लामिछानेलाई प्रहरीको जिम्मा लगाएको थियो । उनी काठमाडौं प्रहरीको हिरासतमा छन् । प्रहरीले नै उनलाई थुनछेक बहसमा अदालत उपस्थित गराउनेछ ।
आइतबार थुनछेक बहस नहुने भएपछि रवि लामिछाने र उनका वकिलहरूले प्रतिवादी आफैँ अदालतमा हाजिर हुन आएकाले परिवारको जिम्मा लगाउन माग गरेका थिए । तर, न्यायाधीश अधिकारीले थुनछेक बहस नभएका कारण मुद्दा हेर्दाहेर्दैमा परेका प्रतिवादीलाई परिवारको जिम्मामा छाड्ने नजीर नरहेको भन्दै लामिछानेलाई प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । यो मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको छ । सोही मुद्दामा प्रतिवादी रहेका सुनिता नेवा र कमल लामा धरौटीमा रिहा भइसकेका छन् ।