काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल फर्केर स्वदेश आउने विश्वास रहेको बताएकी छन् ।
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले विपिन जोशी रिहाइका लागि पहल भइरहेको र उनी सकुशल फर्केर आउनेमा आफु ढुक्क रहेको बताएकी हुन् ।
‘विपिन भाईको रिहाईको लागि पहल भइरहेको छ । उहाँ सकुशल फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु’, उनले भनिन् ।
इजराइलले रिहाइका लागि हमासलाई सूची पठाएको विषय आएको उल्लेख गर्दै उनले भनिन्, ‘३४ जना रिहा हुन लागेको रिपोर्ट आएको थियो तर होइन भन्ने पनि आयो ।’
उनले कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन भनेको पनि बताएकी छन्।
मन्त्री राणाले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन यसअघि नै आग्रह गरेकी थिइन्।
सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए ।
त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेका छन् । जोशीको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयास गर्दै आएको छ । तर, उनी जिवित छन् या छैनन् भन्नेबारे यकिन समेत हुन सकेको छैन ।