Logo
Logo

दल फुटाउने अध्यादेश ल्याउन लाग्यो भनेर भ्रम फैलाइयो : प्रधानमन्त्री


441
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज बालुवाटारमा बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुठ र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गर्दै कुनै पनि दल मिल्ने र फुट्ने विषय ती दलको आन्तरिक भएको स्पष्ट पारे ।

उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पु¥ याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याए पनि विरोध आएपछि फिर्ता लिएको बताए ।

तत्कालीन समयमा विरोध गर्नेहरुले नै पछि २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गर्दै उनीहरुले नै अहिले अध्यादेशको विरोध गरिरहेको उनको भनाइ थियो । तर आफूले भने त्यसो गर्ने कुनै मनसाय नरहेको पनि प्रधानमन्त्रीले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले मुलुक विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको बताए । उनले सो विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध गरेको भनी झुठो वक्तव्य प्रचार गरिएको उल्लेख गर्दै यस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिए । यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्रीले जारी नै नभएको अध्यादेशलाई रातिराति जारी ग¥यो भनेर सम्प्रेषण गरिएको उल्लेख गर्दै मुलुक र जनताका पक्षमा आफूहरुले दिनरात नभनी काम गरेको बताए । ‘हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुुन्छ । लुुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो’, प्रश्नात्मक शैलीमा उनले भने, ‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र ?’

सरकारले विभिन्न नाममा हुने कीर्ते र जाली काम रोक्ने गरी कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यको भूमिका हुनेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्