काठमाडौं । सरकारी वकिलहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउनुपर्ने तर्क राखेका छन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दाको काठमाडौँ जिल्ला अदालतमा जारी थनछेक बहसका क्रममा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल र विना खड्काले लामिछानेलाई प्राप्त प्रमाणका आधारमा थुनामा पठाउनुपर्ने जिकिर गरेका हुन् ।
स्वर्णलक्ष्मीको सहकारी ठगी प्रहरणमा अभियोग पत्र दायर भएपछि यहि पुस २५ गते कास्की प्रहरी हिर।ासतबाट रिहा भएका लामिछाने आइतबार काठमाडौं अदालतमा आफैं हाजिर भएका थिए । आज बिहानबाट सुरु भएको थुनछेकमा सरकारी पक्षका वकिलहरूले यति बेला बहस गरिरहेका छन् ।
उनीहरू सबैले तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेलाई थुनामै पठाउनु मुनासिब हुने तर्क गरेका छन् । जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले रवि लामिछानेले विभिन्न समयमा चेक काटेर सहकारीबाट आएको ४९ करोड खर्च गरेको देखिएको जिकिर गरे ।
स्वर्णलक्ष्मी सहकारीबाट २ करोड ६५ लाख रुपैयाँ गोरखा मिडियामा गएको देखिएको पनि उनले बताए । आटो लोन लिनका लागि लामिछाने र जीबी राईले संयुक्त खाता खोलेको भेटिएको अदालतमा सुनाए । त्यस्तै, चन्द्र सञ्जेलले ८२० थान चेक काटेर सहकारीको रकम खर्च गरिएको उल्लेख गरे ।
उनले कुमार रम्तेल र छविलाल जोशीलगायत पोल बयान गरेको अवस्थामा लामिछानेलाई थुनामा राखेर नै पुर्पक्ष गर्नुपर्ने बताए । यसैगरी सन्तोष कटुवालले बिना धितो कृत्रिम ऋण खडा गरेर सहकारीको पैसा गोरखा मिडियमा ल्याएर व्यक्तिगत रुपमा खर्च गरेको देखिएको बताए ।