Logo
Logo

तस्करीमा एसपीको संलग्नता


5.7k
Shares

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले सीमा क्षेत्रको तस्करीलाई कडाई गर्न तराई–मधेश र मधेश प्रदेशका डिआइजी, एसपी, डिएसपीहरूलाई १५ दिने अल्टिमेटम दिएलगत्तै पश्चिम नवलपरासीमा एसपी प्रकाश वाग्ले निगरानीमा परेका छन् ।

उनकै संलग्नतामा पश्चिम नबलपरासीबाट तस्करी मौलाएको उजुरी मुख्यालयमा परेपछि निगरानीमा परेका हुन् । जिल्लाको हरपुर नाकामा डिएसपी बिष्णु अधिकारी त्यसमा प्रत्यक्ष संलग्न रहदै आएको उजुरी मुख्यालयमा परेको छ ।

बलिनगर, गुठी, हरपुर, भुजहवा नाकाबाट दिउँसै तस्करी हुने गरेको उल्लेख छ । वाग्लेको कार्यकालमा एक पटक हेडक्वाटरको आदेशमा अबैध गोदाममा छापा मारेको बाहेक अहिले कुनै पनि सामान बरामद भएको छैन । तर उनलाई लुम्बिनी प्रदेशका डिआइजी प्रदीपकुमार पालले सहयोग गरिरहेका छ्न् । यता कपिलवस्तुको चाकरचौड गुल्मका डिएसपी जयराम बस्नेत फेरि गुल्म फिर्ता भएका छ्न् । उनै पाललाई पनि हेडक्वाटरमा बोलाइएको थियो ।

पश्चिम नवलपरासीमा हरियो केराउ (मटर) तस्करी बढेको स्रोतको दाबी छ । जिल्लाको सीमावर्ती क्षेत्र झोलनिपुर, बसैया, धर्मौली, हरकपुरा नाकाबाट दैनिक ८ देखि १० ट्रक केराउ भारत तस्करी हुने गरेको बताइएको छ ।

कारोबारीहरूले बर्दघाट, बासाबसही, गोपिगञ्ज र परासी बजारमा केराउ ल्याएर राख्ने र त्यहाँबाट बिल काटेर सीमावर्ती क्षेत्रको गोदाममा लगेर राख्ने गरेका छन् । गोदामबाट उनीहरूले साइकल र विभिन्न व्यक्तिलाई झोला र बोरामा बोकाएर भारत पठाउने गरेका हुन् ।

विभिन्न समयमा प्रहरीले केराउ बरामद गर्ने गरे पनि बिल र अन्य कागजपत्र दुरुस्त रहेको भन्दै छाडिदिने गर्दा तस्करी झन बढेको हो । त्यसरी छाडिएका केराउ भारतीय एसएसबीले धमाधम बरामद गर्न थालेको छ । त्यसैगरी झरही खोलामा अवैध उत्खनन् भई खोलाजन्य पदार्थको चोरी–निकासी बढेको छ । गाउँघरमा प्रयोग गर्ने भनी स्थानीय तस्कर खोलामा साँझ–बिहान खोलाजन्य पदार्थ चोरी गरी बिक्री वितरण गरिरहेको पाइएको छ ।

रामग्राम नगरपालिका–१ सहुवा टिकर र वडा नं ४ सूर्यपुराबाट स्थानीय खोला तस्करले खोलाबाट बालुवा र भक्सट निकाली बजारमा बिक्री वितरण गरिरहेको स्थानीयवासी बताउँछन् । खोलामा दिनहुँ करिब १ सय ट्याक्टर खोलाबाट अवैध उत्खनन गरी बालुवा तथा भक्सट चोरी गरी बिक्री–वितरण गरिरहँदा सशस्त्र प्रहरी मौन बसेको भन्दै आलोचना भएको छ ।

सरावल गाउँपालिका ६ रामपुर खडौनाबाट प्याजको अवैध तस्करी हुने गरेको स्थानीय वासिन्दाको भनाई छ । सशस्त्र प्रहरी मुख्यालयले कुनै पनि तरिकाले तस्करी रोकिएन भने कमाण्डरलाई फिर्ता बोलाउने चेतावनी दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्