Logo
Logo

विद्यालयमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक : उपराष्ट्रपति


252
Shares

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामुदायिक विद्यालयले शैक्षिक ज्ञानका साथमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक भएको बताएका छन् ।

चन्द्रागिरि नगरपालिका–१२ स्थित ‘बहुप्राविधिक शिक्षालय भवन’को आज उद्घाटन गर्दै उनले बालबालिकाले विद्यालय शिक्षामा प्राप्त गरेका प्राविधिक र व्यवहारिक सीपले उनीहरुलाई स्वरोजगार र आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले भने, ‘सबै वर्गका बालबालिकालाई समान अवसर र स्रोत उपलब्ध गराउनुको साथै सामुदायिक विद्यालयको शैक्षकस्तरलाई माथि उठाउन सामुहिक प्रयत्नको खाँचो छ ।’ माध्यमिक शिक्षा परीक्षा (एसइई)मा देशभरका सामुदायिक विद्यालयमा बलम्बु माध्यमिक विद्यालयले मानक कायम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा उक्त मानक कायम राख्न सुझाव दिए ।

दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेशनको आर्थिक सहयोगमा चन्द्रागिरि नगरपालिकाले उक्त विद्यालयमा अत्याधुनिक प्रयोगशालासहित बहुप्राविधिक शिक्षालय तयार गरेको छ । यसका लागि दुई तले भवन र चार प्रयोगशाला बनाउन रु दुई करोड ५० लाख खर्च भएको जनाइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) अन्तर्गतको पाठ्यक्रममा आधारित ब्युटिसियन, इलेक्ट्रिसियन, मोटरसाइकल तथा मोबाइल मर्मत गरी चार विधामा स्नातक तह बराबरको बहुप्राविधिक शिक्षालयमा सीप सिकाइने छ ।

बलम्बु माध्यमिक विद्यालयमा साधारणतर्फ कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीले आफ्नो रुचिको ती विधामध्ये एक विधामा अध्ययन गर्न सक्ने छन् । उनीहरुले कक्षा १२ उत्तीर्ण हुँदा ती चार विधामा स्नातक तह बराबरको सीप पूरा गर्न सक्ने जनाइएको छ ।

कार्यक्रममा पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री तथा सांसद कृष्णगोपाल श्रेष्ठले हरेक सामुदायिक विद्यालयमा प्रविधिमा आधारित सीप कक्षा सञ्चालन गर्न जरुरी रहेको चर्चा गरे । उनले यस्ता सीपमुलक कक्षाले स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले सामुदायिक विद्यालयले बालबालिकालाई प्रदान गर्ने सैद्धान्तिक ज्ञानसँग प्राविधिक सीपलाई जोड्न बहुप्राविधिक शिक्षालयले सहयोग पुग्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले स्वदशमै स्वरोजगार सिर्जना गर्न सामुदायिक विद्यालयमा हुने शैक्षिक ज्ञानसँगै प्राविधिक सीपले सहयोग पु-याउने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्