एजेन्सी । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योल पक्राउ परेका छन् । भ्रष्टाचार विरोधी निकाय सीआईओका अनुसन्धानकर्ताहरू र प्रहरीले उनलाई गएराति राष्ट्रपति निवासबाटै पक्राउ गरेका हुन् ।
यसै महिनाको सुरूमा गरिएको पक्राउको पहिलो प्रयास भने असफल भएको थियो । देशमा सैन्य कानून लागू गर्ने असफल प्रयास गरेको विषयमा युन विरुद्ध देशद्रोह र शक्तिको दुरुपयोग गरेको भन्दै फौजदारी अभियोगमा अनुसन्धान भइरहेको छ ।
यूनले गत डिसेम्बर ३ को मध्यराति देशमा मार्शल ल घोषणा गरेका थिए । यद्यपि त्यो घोषणा ६ घण्टा पनि टिक्न सकेको थिएन ।
तत्काल संसद्को बैठक बसेर सांसदहरूले अमान्य घोषणा गरेपछि यूनले मार्शल ल फिर्ता लिएका थिए । सोही विषयलाई लिएर संसद्ले डिसेम्बर १४ मा यून विरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो ।
महाभियोग पारित भएसँगै निलम्बनमा परेका यूनविरुद्ध संवैधानिक अदालतमा सुनुवाइ भइरहेको छ । संवैधानिक अदालतले महाभियोग सदर गरेमा यून पदबाट बर्खास्त हुनेछन् ।