Logo
Logo

पक्राउपछि युनको सन्देश- रक्तपात रोक्न सीआईओमा हाजिर हुने निर्णय गरेँ


1.2k
Shares

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलले मुलुकमा रक्तपात रोक्न आफुले आत्मसमर्पण गर्ने निर्णय गरेको बताएका छन् । बीबीसीका अनुसार आज पक्राउ परेका उनले भिडिओ सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान गैरकानुनी भएको र रक्तपात रोक्न आफुले पक्राउको अनुमति दिएको बताएका हुन् ।

‘अवैध अनुसन्धान भए पनि मैले सीआईओसमक्ष हाजिर हुने निर्णय गरेको छु । रक्तपात नहोस् भनेर यो निर्णय लिएको छु,’ उनले भनेका छन्, ‘यद्यपि, यसको मतलब यो होइन म यो अनुसन्धानलाई सही मान्छु ।’

यद्यपी युनले अनुसन्धान एजेन्सी र पक्राउ पुर्जी जारी गर्ने अदालतसँग त्यस्तो अधिकार नभएको पनि बताएका छन् । भ्रष्टाचार विरोधी निकाय सीआईओका अधिकारीहरु र प्रहरीले युनलाई स्थानीय समयअनुसार बिहान ७ः२३ बजे राष्ट्रपति निवासबाटै पक्राउ गरेका थिए ।

यसै महिनाको सुरूमा गरिएको पक्राउको पहिलो प्रयास भने असफल भएको थियो । देशमा सैन्य कानून लागू गर्ने असफल प्रयास गरेको विषयमा युन विरुद्ध देशद्रोह र शक्तिको दुरुपयोग गरेको भन्दै फौजदारी अभियोगमा अनुसन्धान भइरहेको छ ।

यूनले गत डिसेम्बर ३ को मध्यराति देशमा मार्शल ल घोषणा गरेका थिए । यद्यपि त्यो घोषणा ६ घण्टा पनि टिक्न सकेको थिएन ।
तत्काल संसद्को बैठक बसेर सांसदहरूले अमान्य घोषणा गरेपछि यूनले मार्शल ल फिर्ता लिएका थिए । सोही विषयलाई लिएर संसद्ले डिसेम्बर १४ मा यून विरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो ।

महाभियोग पारित भएसँगै निलम्बनमा परेका यूनविरुद्ध संवैधानिक अदालतमा सुनुवाइ भइरहेको छ । संवैधानिक अदालतले महाभियोग सदर गरेमा यून पदबाट बर्खास्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्