Logo
Logo

रवि लामिछाने पक्षको बहस जारी, आजै आदेश आउने सम्भावना


1.6k
Shares

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी रास्वपा सभापति रवि लामिछानेका तर्फबाट बहस सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले पहिले बहस थालेका हुन् ।

पुस २८ गते गत आइतबार आफैँ अदालतमा उपस्थित भएर बयान दिएका लामिछानेमाथि सोमबारदेखि थुनछेक बहस जारी छ । सोमबार उनीविरुद्ध सरकार र जाहेरवाला तर्फका वकिलहरूले बहस गरेका थिए । उनीहरूले रविलाई थुनामै राख्नुपर्ने तर्क पेस गरेका छन् । सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

मंगलबार सार्वजनिक बिदा परेकाले बहस हुन सकेन । सरकारी र जाहेरवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादी लामिछानेतर्फका अधिवक्ताले आज बहस थालेका हुन् । अहिले पूर्वन्यायाधिवक्ता पन्तले बहस गरिरहेका छन् भने रविका पक्षमा अर्का पूर्वन्यायाधिवक्ता रमन श्रेष्ठले पनि बहस गर्ने तयारी छ ।

लामिछाने तर्फका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि लामिछानेलाई हिरासतमुक्त गर्ने वा थुनामा राख्ने भन्ने आदेश आजै आउने प्रबल सम्भावना छ । स्वर्णलक्ष्मीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं अदालतमा मुद्दा दर्ता भएको छ । उनीहरुविरुद्ध १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्