गत मंगलबार बिहानै चीनको स्वशासित क्षेत्र तिब्बतमा शक्तिशाली भूकम्प गयो । डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर गएको सात म्याग्निच्यूडको भूकम्पले जिजांग क्षेत्र तहसनहस बन्यो । जताततै घरहरू भत्किए । त्यहाँका बासिन्दाको गाँस–बाँस उठ्यो । खुसी खोसियो । यसले नेपालको २०७२ वैशाखको गोरखा भूकम्प र २०८० कात्तिकको जाजरकोट भूकम्पको त्रासदी पनि सम्झाइदियो ।
पहिला तिब्बत भूकम्प र भूकम्पपछि उद्धारको कार्यको चर्चा गरौँ । करिब ४५ सय मिटर उचाइ रहेको जिगांग अति चिसो ठाउँ हो । यो क्षेत्रमा तापक्रम शून्यदेखि माइनस १७ डिग्रीसम्म छ । कठिन भौगोलिक विकटता र प्रतिकूल मौसमका बाबजुद उद्धारकर्ताले जुन गतिमा काम गरे, त्यो साँच्चै अद्भुत छ ।
उद्धार कार्यमा चीनले चमत्कार नै ग¥यो । भूकम्प गएको १५ मिनेटभित्रै उद्धार टोली खटियो । झन्डै १० हजार उद्धारकर्ता भूकम्प प्रभावित क्षेत्रमा परिचालित भए । भूकम्प प्रभावित क्षेत्रमा २६ वटा टोलीमा ५८१ जना स्वास्थ्यकर्मी र १०७ वटा एम्बुलेन्स परिचालन गरियो ।
त्यसैको परिणामस्वरूप भग्नावशेषमा पुरिएका चार सयभन्दा बढीले नयाँ जीवन पाए । भग्नावशेषमा पुरिएका ४०७ जनालाई उद्धार गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । भूकम्प गएको ३६ घण्टामा करिब ३६ सय घरको भग्नावशेष पन्छाइयो । उद्धार कार्य ४८ घण्टामै सकियो ।
चीनले भूकम्प पीडितलाई उतिकै तीव्र गतिमा राहत पनि बाढ्यो । भूकम्पपीडितका लागि त्रिपाल, लगाउने र ओड्ने तथा ओच्छ्याउने कपडाहरू, जुत्ता, हिटर, जेनरेटर, चुलो, आपत्कालीन बत्ती, खाना, औषधिसँगै ८१ वटा सवारी साधन तैनाथ गरियो । दुरदराजमा सेवा पु¥याउन ड्रोनको समेत प्रयोग गरियो ।
चीनको उक्त कार्यलाई देशका शासक र जनताको दुर्दशालाई एकपटक सम्झाइदिएको छ । हामीले २०७२ सालमा योभन्दा केही ठूलो भूकम्पको सामना गर्नुपरेको थियो । ८ हजारभन्दा बढीले ज्यान गुमाएको यो भूकम्पमा जनताले उद्धार र राहतका लागि हप्तौँसम्म खुला आकाशमुनि रात कटाउनु परेको थियो ।
चीनले भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट प्रभावित हुनेलाई तत्काल उद्धार र पुनस्र्थापना गर्न बलियो संयन्त्र स्थापित गरेको देखिन्छ । चीनले भूकम्पबाट क्षतिग्रस्त बनेको क्षेत्रमा सबैथोक ग¥यो भन्ने होइन । तर आपत्कालीन अवस्थामा जति प्रभावकारी काम ग¥यो र जुन तदारुकता देखायो । त्यो साँच्चिकै अनुकरणीय छ ।
अब जोडौं नेपालको सन्दर्भ । नेपालमा पनि बारम्बार भूकम्प गइरहन्छ । पूर्वतयारी र भूकम्पपछि उद्धारमा तथा राहतमा चुक्दा ठूलो जनधनको क्षति पनि हुने गरेको छ । अहिले हामीलाई चीनबाट पाठ सिक्ने ठूलो अवसर मिलेको छ ।
इन्डियन र युरोसियन प्लेटको सिमानामा रहेको नेपालमा भूकम्पका हिसाबले सधैँ जोखिमयुक्त क्षेत्र हो । इन्डियन प्लेट हरेक वर्ष पाँच सेन्टिमिटरका दरले पूर्वोत्तरतर्फ सर्दै गएको र युरोसियन प्लेट हरेक वर्ष दुई सेन्टिमिटरका दरले उत्तरतर्फ सरिरहेको वैज्ञानिकहरूको भनाइ छ । जति ठूलो जोखिम, त्यति नै धेरै सतर्कता हुनुपर्छ । सतर्कता अपनाइयो भने ठूलो जनधन जोगाउन सकिन्छ ।
तर, जनताको विपतमा हाम्रा शासक सधैँ बेपत्ता हुने गरेका छन् । गत असोजको बाढीपहिरोलाई मात्रै सम्झने हो भने पनि छर्लङ्ग हुन्छ । एक सातादेखि बिपत् आउन सक्दै भन्दै सम्बन्धित निकायले सचेत गराउँदा समेत सत्तामा साशकले सुनेनन् । सरकारको लापरबाहीले हेर्दाहेर्दै सर्वसाधारणलाई बाढीले बगायो ।
संघीय राजधानी काठमाडौँमै बाढीमा फसेका ‘बचाऊ’ भन्दै घण्टै चिच्याउँदा समेत शासकले सुनेनन् । नख्खु खोलामा फसेकालाई बचाउन जानुको साट्टो सिंहदरबारमा बैठक बस्यो । र, बचेकाहरूलाई पनि बचाउन सकिने भन्दै गृहमन्त्रीले नालायकी प्रतिक्रिया दिए ।
हुन त प्राकृतिक विपत्ति मानिसको नियन्त्रणभन्दा बाहिरको विषय हो । प्राकृतिक प्रकोपलाई चाहेर पनि रोक्न सकिँदैन । तर, सम्भावित जोखिमलाई नियन्त्रण गर्न सकिन्छ । यसको ज्वलन्त उदाहरण हो– तिब्बत भूकम्प ।
भूकम्पबाट जोगिन के गनुर्पछ भन्ने पाठ जापानबाट पनि सिक्न सकिन्छ । जापान भूकम्पीय दृष्टिबाट सबैभन्दा जोखिमयुक्त देश हो । यस देशलाई ‘भूकम्पको देश’ भनेरै चिन्ने गरिन्छ । तर, जापानमा भूकम्पले निम्त्याउने मृत्युदर अन्य देशको भन्दा धेरै कम छ । भूकम्प सक्रिय देश जापानमा यस प्राकृतिक प्रकोपले निम्त्याउने मृत्युदर कम हुनुको मुख्य कारण भनेको भूकम्पको तयारी र विपद् व्यवस्थापन रणनीति एक महत्त्वपूर्ण पक्ष हो ।
जापानले १९२३ को भूकम्पबाट संरचनाहरू बलियो बनाउनुपर्छ भन्ने पाठ सिकेको हो । त्यसपछिका कैयौँ भूकम्पबाट पनि जापानले विभिन्न उपायहरू सिक्दै गयो । सन् १९२३ मा ७ दशमलव ९ म्याग्निच्युडको भूकम्पले १ लाख ४० हजार जापानीको ज्यान गएको थियो ।
तर, सन् २०११ को ९ म्याग्निच्युडको महाभूकम्पमा भने जापानका भौतिक संरचनाहरू डगमगाएनन् । त्यसबेला संरचना भत्किएर नभई १८ हजार ५ सय जनाले भूकम्पपछिको सुनामीका कारण ज्यान गुमाए । यतिबेला भूकम्पपछि आउने सुनामीबारे पनि जापान सचेत छ ।
भूकम्प प्राकृतिक प्रकोप हो । यसले आफैँ मान्छेको ज्यान लिँदैन । भूकम्प थेग्न नसक्ने संरचनाहरू भत्किँदा अधिकांश मानिसहरूको मृत्यु हुने गरेको छ । यस्तै, भूकम्पले निम्त्याउने पहिरो र सुनामीजस्ता अन्य प्रकोपले पनि मानिसको ज्यान लिन्छ ।
जापानमा पुराना भवनहरूलाई रेट्रोफिटिङ गरेर भूकम्पप्रतिरोधी बनाइन्छन् । यस्तै, कतिपय अग्ला संरचनाहरू भूकम्पले केही नहोस् भनेर विशेष प्रविधि गरेर बनाइएको हुन्छ, जसले भूकम्पको धक्कालाई कमजोर गर्छ र भवनहरूमा न्यून क्षति हुने बताइन्छ ।
त्यस्तै भूकम्प पूर्व तयारीमा सार्वजनिक शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्छ । जापानमा नियमित अभ्यासहरू जस्तै भूकम्प निकासी अभ्यास र सुनामी अभ्यासहरू विद्यालय, कार्यस्थल र समुदायहरूमा सञ्चालन गरिन्छ । जापानसँग राम्रोसँग प्रशिक्षित र सुसज्जित आपत्कालीन प्रतिक्रिया टोलीहरू छन् । स्थानीय सरकारहरू, आत्मरक्षा बलहरू, र अन्य संस्थाहरू प्रकोप निम्तिएका बेला द्रुत सहायता प्रदान गर्न सक्षम छन् ।
भूकम्पबाट सबैभन्दा बढी क्षति बेहोर्नुपर्ने सर्वसाधारणले नै हो । राज्यका लागि मानवीय र भौतिक क्षति परिमाणमा हुने गर्छ जसलाई समय क्रमले पूर्ति पनि गर्न सक्छ । तर, नागरिक भने प्रियजन, अभिभावक वा सन्तान गुमाउँछन् जसको क्षतिपूर्ति असम्भव छ । आफन्तजन गुमाउँदा पारिवारिक जीवनको लय नै बिथोलिन्छ । आर्थिक भार थपिन्छ ।
विगतका भूकम्पका साथै चीन र जापानबाट पाठ सिक्नुपर्ने र सम्भावित भूकम्पबाट आफू र परिवारलाई कम क्षति पुग्ने गरी पूर्वतयारी गर्ने विषयलाई व्यक्ति–व्यक्तिले प्राथमिकता दिनुपर्छ । सरकारले तय गरेका मापदण्ड पालना गर्दै यथाशक्य भूकम्पको असर कम पर्ने घर निर्माण गर्ने, त्यसको गुणस्तर सुनिश्चित गर्ने, भूकम्पबाट जोगिनका लागि परिवारका सदस्यहरूबीच छलफल गरिराख्ने र बेलाबखत अभ्यास पनि गर्नेजस्ता काम गरियो भने कम मात्रै क्षति बेहोर्नुपर्ने हुन सक्छ ।