Logo
Logo

मान्छे सुविधा खोज्दै शहर छिरे, गाउँमा स्याल, बाँदर र ब्वाँसोको रजाइँ


1.1k
Shares

बागलुङ । जिल्लाको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहर बजार झर्नेको सङ्ख्या ठूलो छ । सेवा सुविधा र अवसरका लागि भन्दै बसाइँ सर्दा गाउँ रित्तो बन्दै गएका छन् ।

बनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूख बिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन् ।

दशक अगाडिसम्म रमाइला गाउँ बस्ती अचेल रित्तिएर उराठ लाग्दा छन् । झाडी पलाएर बाटो ढाकिएका छन् । घरसम्म झाडी पलाएपछि अहिले गाउँमा वन्यजन्तुको आतंक बढ्दै गएको छ । घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन् । जिल्लाको गलकोट, जैमिनी, काठे खोला र बरेङका अधिकांश गाउँमा बाँदर आतंक बढी छ ।

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बारदलीमा झुन्ड्याएर राखिएका सामान नष्ट गरिदिने गरेको जैमिनी नगरपालिका–५ का कुलबहादुर थापाले बताए । गाउँमा जनसङ्ख्या कम हुँदै जाँदा बाँदर आतंक भने बढ्दै गएको उनको भनाइ छ ।

पहिले जंगलमा मात्रै भेटिने बाँदर, स्याल र अन्य हिंस्रक जन्तु हिजोआज घरमै आएर सास्ती दिने गरेको थापाले दुःखेसो पोखे ।

‘गाउँमा वन्यजन्तुले धेरै दुःख दिन थाले, बारीमा लगाएको तरकारीदेखि खाद्य बाली बाँदरले सखाप पारिदिन्छ, गोठमा पालेको गाई, बाख्रा र पाठापाठी ब्वाँसोले खाइदिन्छ,’ उनले भने, ‘कुन बेला मान्छेलाई नै आक्रमण गर्छ भन्ने चिन्ता बढेको छ । यो समस्या बढ्दै गएको छ, बसाइँसराइ गरेर जाने त गइहाल्छन्, गाउँमा बस्नेलाई त सरकारले जोगाइदिनु दिनुप¥यो ।’

काठे खोला गाउँपालिका–५ का नन्दराम कँडेलले वन्यजन्तुले बालीनाली खाई दिने र पशुचौपाया मारी दिँदा बर्सेनि लाखौँको नोक्सानी बेहोर्नुपरेको गुनासो गरे । हरेक वर्ष गाउँबाट बागलुङ बजार, पोखरा, काठमाडौँ र चितवन बसाइँसराइ हुने र वन्यजन्तु भने गाउँ पस्ने समस्यालाई रोक्न सरकारले ध्यान दिनुपर्ने र बसाइँसराइ गरेर जानेले घरबारीलाई बाँझो राख्न नपाइने नीति ल्याउनुपर्ने उनको भनाइ छ ।

गाउँमा विकास हुँदै गए पनि धेरैले सहर रोज्दा गाउँमा वन्यजन्तुको आतंक बढ्न थालेको कँडेलले बताए । उनले भने, ‘हामीहरू धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ । यसतर्फ राज्यले ध्यान दिनुप¥यो, गाउँमा सबै ठिक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुसी छौँ ।’

प्रतिक्रिया दिनुहोस्