धनगढी । नेकपा एमालेबाट निस्काशित भएपछि ‘मातृभूमि जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बन्ने बताएका छन् । शुक्रबार बिहान धनगढी विमानस्थलमा ओर्लिएका नेता रावलले पत्रकारहरुसँग संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् । उनले उक्त अभियानमा काठमाडौंका मेयर बालेन साहलाई समेत समेटेर अगाडि बढ्दा राम्रो हुने बताए ।
पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावललाई पत्रकारहरुले बालेनसँग पनि छलफल गरेको चर्चाबारे सोधेका थिए । उक्त सवालको जवाफमा रावलले भने, ‘बालेनजी हुनुहुन्छ, जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाए राम्रो हुन्थ्यो भन्ने हो ।’ उनले रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा भने कसनै टिप्पणी नगर्ने बताए ।
रावल विमानस्थल ओर्लिंदा उनका समर्थकले एमालेको विरोधमा नारा लगाए थिए । पत्रकारहरुले रावललाई राजावादीसँगको भेटघाटबारे जिज्ञासा राखेका थिए । सो क्रममा उनले अहिलेको देशको अवस्था परिवर्तनका लागि धेरै मानिसहरुसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने भन्दै त्यही क्रममा विभिन्न व्यक्तिसँग भेटेको बताए । पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा पनि आफू सहभागी भएको उनले बताए ।
उनी हालै विराटनगर गएका बेला राजावादीहरुले स्वागत गरेका थिए । त्यतिबेला इटहरीमा राजावादीहरुसँगको भेटमा उनले दोस्रो जनआन्दोलनको उद्देश्य राजा फालेर गणतन्त्र ल्याउने नभएपनि घुसपैठ भएको जिकिर गरेका थिए । राजावादीलाई भेट्दैमा आफूलाई पनि राजावादी भन्न नमिल्ने नेता रावलले बताए ।
उनले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको भन्दै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे । उनले भने, ‘देश र जनताका लागि जोजो छन्, इमान्दार देशभक्तहरु हामी एक ठाउँमा आउँछौं भन्नेमा मेरो विश्वास छ ।’
प्रधानमन्त्रीसहित राजनीतिक नियुक्तिमा भागबण्डा गरेर खाने गरेको भन्दै उनले त्यसलाई रोक्नुपर्छ भन्ने आफूहरुको धारणा रहेको बताए । ओलीप्रति लक्षित गर्दै रावलले भने, ‘प्रधानमन्त्री बन्यो भागबण्डा गरेर खाने, विश्वविद्यालयमा भागबण्डा गरेर खाने । अस्तीभर्खर भूमिसम्बन्धी आयोग गठन भयो हेर्नुस् त भागबण्डा । भागबण्डाभित्र पनि गुटबन्दी छ फेरि । अनि के यो राज्य भनेको व्यक्तिगत हो कसैको ? त्यसकारण यस्तो कुरालाई रोक्नुपर्छ ।’
आफूले सुरु गरेको अभियानले कालान्तरमा ठूलो रुप लिने बताउँदै रावलले भने, ‘हिमालमा हिउँको डल्लो गुडिरहेको बेला सानो देखिन्छ । पछि त्यसले हिम आँधीको रुप लिन्छ ।’