Logo
Logo

विश्वव्यापी राजनीतिक उथलपुथलको संकेत


डा. दीपेश केसी

819
Shares

कार्ल माक्र्सले पुँजीवादले आफ्नो चिहान आफैँ खन्छ भनेका थिए । यो भनाइ २१औँ शताब्दीमा पुँजीवादको माध्यमले वर्चस्व बनाएका शक्तिहरूमा लागू हुने देखिएको छ ।

अमेरिका र युरोप पुँजीवादका माध्यमले भौतिक विकासको चरम चुलीमा पुगे । उनीहरूले उदारवाद, खुल्ला समाज र स्वतन्त्रताका नाममा विश्वभर वर्चस्व बनाए । के पूर्व के पश्चिम के उत्तर के दक्षिण जताततै आफ्नो प्रभाव बनाए । उनीहरूको प्रभावको माध्यम पैसा, बुद्धि र सैन्य शक्ति नै थियो । शताब्दीऔँदेखि पुँजीवादले बनाएको वर्चस्व आफैँले खनेको खाडलमा आफैँ पर्ने अवस्थामा पुगेपछि पुँजीवाद संकटमा पर्दै आएको छ ।

युक्रेन युद्धले युरोप खोक्रिइसकेको उजागर भयो । यो युद्धमा रुस र युक्रेन एकआपसमा लडेको देखिए पनि वास्तविकतामा अमेरिकासहित नाटो एकातर्फ र रुससहित उसका मित्रशक्ति अर्कातर्फ छन् । छद्म युद्धहरू चलिरहेको छ । जतिजति युद्ध लम्बिन्छ उतिउति युरोप खोक्रो हुँदै जान्छ । त्यसैले होला अमेरिकामा ट्रम्पको पुनः उदय भइसकेको छ ।

उनी पुनः राष्ट्रपति निर्वाचित भई माघ महिनामा सत्ता सम्हाल्दैछन् । ट्रम्पको जितसँगै युक्रेन युद्धका पक्षधरहरू धमाधम सत्ताबाट हट्न थालेका छन् । जसमध्ये क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडेउको राजीनामा पनि एउटा उदाहरण हो । ट्रडेउ भारतका खालिस्तानी पृथकतावादीलाई सघाउने नीतिका पक्षधर हुन् । ट्रम्प निर्वाचित भएलगत्तै उनले राजीनामा दिनुप¥यो । जर्मनीको चान्सलर ओलफ स्कोल्जले संसदबाट विश्वासको मत गुमाएबाट चाँडो निर्वाचनमा जानुपरेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनपनि दबाब झेलिरहेका छन् । फ्रान्सको प्रभाव क्षेत्र अफ्रिकामा धमाधम अन्य शक्ति हाबी हुन थालेका छन् । रुस, चीन, भारत जस्ता देशहरूले आफ्नो चासो बढाएका छन् । फ्रान्सको प्रभाव मानिएका नाइजर, चाड, माली जस्ता देशमा सैनिक कू भई फ्रान्सविरोधी शक्ति सत्तामा आएको छ । नाइजरले त्यहाँ भएका फ्रान्सेली सैनिकलाई हटाउन लगाइसकेको छ । चाडबाट पनि हट्ने क्रम माघ महिनाभित्र सकिँदै छ ।

आइभोरी कोष्ट, सेनेगल, जिबुटी, गाबोन, चाड, बुर्किना फासो, माली जस्ता देशमा फ्रान्सेली सैनिक रहेकोमा केहीमा हटिसकेको र केहीमा यसै वर्ष हट्ने निश्चित भएबाट नयाँ घटना विकास भएको छ । खनिजका खानीमा फ्रान्सका या ऊनिकट देशका कम्पनीको दोहन रहेकोमा त्यसको अन्त हुन थालेको छ ।

बेल्जियम रुवान्डामा हुटु र टुट्सीको विभाजनको रेखा नै कोरेको थियो । हुटु र टुट्सीको फरक परिचयपत्र बनाउने नै बेल्जियमको उपनिवेशकालमा भएको थियो । यही विभाजनको रेखा बढेर त्यहाँको हिंसामा दशौं लाख मारिए । विश्व इतिहासमा छोटो समयमा धेरै व्यक्ति मारिएको किर्तिमान नै बनेको छ रुवान्डाको हिंसामा । रुवान्डा त शान्त भयो नै इतिहासको मानवताविरोधी घटनाले अफ्रिकामा युरोप विरोधी भावना मौलायो ।

उपनिवेश बनाएर शताब्दीऔं सम्म शासन गरेका पश्चिमाहरू २०औं शताब्दीको आपसी द्वन्द्वले दुईवटा विश्वयुद्ध लड्न पुगे । ती विश्वयुद्धले सँसारभर उपनिवेश अन्त हुन थाले । तर, फरक रणनीतिका साथ तिनकै प्रभाव विश्वभर परिरह्यो ।

एसियामा बेलायत, अफ्रिकामा फ्रान्स, दक्षिण अमेरिकामा स्पेन, पोर्चुगल जस्ता देशकै मुख्य प्रभाव देखियो । पूर्वी युरोप, मध्य एसिया र मध्यपूर्वका कतिपय देशमा रुस प्रभावशाली बन्यो । खाडी मुलुकमा अमेरिकाकै प्रभाव रह्यो । अस्ट्रेलिया र क्यानडामा अझै पनि बेलायतको राजालाई राष्ट्रप्रमुख मानिन्छ । त्यहाँ अमेरिका र बेलायतको प्रभाव छ ।

२१औं शताब्दीमा समाजवाद, उदारवाद जस्ता मोहरासहित हाबी हुने पुँजीवाद कार्यान्वयन गरिरहेका देशहरूको टकराब देखियो । सोभियत संघ र पूर्वी युरोपमा आफू अनुकूलको परिस्थिति विकास गर्न अमेरिकासहित पश्चिमा देशहरूले जर्ज सोरसको भेषमा आफ्ना विचार लाद्ने चार्तुयता देखाएकै हुन् ।

सोभियत संघ विघटनपछि सोरस झन् प्रभावशाली देखिए । उनै सोरसको अमेरिकी संस्थापन पक्षसँग विशेष सम्बन्धको विषय छताछुल्ल भइसकेको छ । इटालीकी प्रधानमन्त्री जिओर्जिया मेलोनीले त सोरसलाई विश्वभर अस्थिरता मच्चाउन पुँजी र सञ्जाल परिचालन गर्ने पात्र भनेकी छिन् ।

सामाजिक सञ्जालमार्फत् मूलधारको मिडियालाई नै कमजोर पारिदिने एलन मस्कभन्दा पनि सोरस खतरनाक रहेको मेलोनीको हालैको तर्क गम्भीर छ । रोचक त यो छ कि उनै सोरस चीनमा दुस्मन दर्ज छन् । भारतको सत्तारुढ भाजपाले पनि उनलाई मुख्य दुस्मन ठहर गरेर आक्रामक सामाग्री नै सार्वजनिक ग¥यो ।

मिडिया सामाग्री र सामाजिक सञ्जाल पश्चिमाहरुको मुख्य हतियार बन्दै गएको घटनाक्रमले देखाइसकेको छ । जुकनवर्गले अमेरिकी गुप्तचर संस्था सीआइएसहित सुरक्षा निकायले वाट्सएपको सन्देश आदानप्रदान नै हेर्नसक्ने पहुँच राखेको खुलाइसकेका छन् ।

पुटिनसँग टकर कार्लसनले अन्तवार्ताको चाँेजोपाँजो मिलाउँदाका सन्देशहरु हेरिएपछि यो खुलासा भएको हो । यसरी सूचना र सुरक्षा संयन्त्रमै प्रभाव बनाएर अमेरिकासहित पश्चिमा शक्तिले आफ्नो विश्वव्यापी प्रभाव कायम राख्न खोजेका छन् । तर, त्यसमा निकै ठूला चुनौतीहरु तेर्सिएका छन् ।

२१औं शताब्दीको पहिलो चर्तुथांश समय सकिनै लाग्दा विश्वमा ठूलै हलचलहरू आइसकेका छन् । युक्रेन युद्धमा रुस जति फस्यो त्योभन्दा बढी सिंगो युरोप नै फसेको छ । युद्धको लाभ पुँजीपतिहरुले भरमग्दूर लिएका छन् । कोभिड १९ पछि विश्वका धनाढ्यहरूको धन ह्वात्तै बढ्नुमा युक्रेन युद्ध पनि एक हो । तर, युरोप सबैभन्दा समस्याग्रस्त हुन थालेको छ । युद्ध चाँडो अन्त गर्न आतुर छन् युरोपेलीहरू । युक्रेनले रुसले हडपेका भूभाग फिर्ता पाउने छाँटकाँट छैन । ट्रम्पनिकटले नै यसको संकेत गरिसकेका छन् ।

अब जतिसक्दो चाँडो ट्रम्प र पुटिनबीच वार्ता गराएर युद्ध अन्त गराउने पहल चलिसकेको छ । यसबीच युरोपको अर्को शक्तिशाली देश डेनमार्कले ग्रीनल्यान्ड गुमाउने अवस्था बनेको छ । ट्रम्पले ग्रीनल्यान्डमा आँखा लगाएपछि त्यहाँका प्रधानमन्त्री मुट एडगेले आफूहरु डेनमार्क र अमेरिका दुवैको अधिनमा नभई स्वतन्त्र बन्ने बताइसके । यी सबै घटना युक्रेन युद्धको दौरान विकास भएको हो ।

विश्वभर समानता, उदारवाद र स्वतन्त्रताको नारालाई रणनीतिक उद्देश्यमा प्रयोग गर्ने युरोपका देशहरुकै लागि ती नारा प्रत्युत्पादक बनेका छन् । तिनको शक्ति घटेको छ अहिले । विश्वभर पुँजी लगानी कहाँ के उद्देश्यले भएको छ भन्ने तथ्यहरु पनि छरपष्ट भएका छन् । परिणामस्वरुप विश्वमा फेरिक एकपटक आ आफ्नो सभ्यताको संरक्षण र प्रवद्र्धनको चेतना जागृत भएको छ ।

चीन कन्फ्युशियशको विचारलाई जगाउन थालेको छ । कन्फ्युशियशवाद चीनको समाजमा वास्तविक विचारधाराका रूपमा प्रकट हुन थालेको छ । भारत विवेकानन्द र चाणक्य जस्ता विचारकलाई प्राथमिकतामा राख्न थालेको छ । चीन आक्रामक विकास रणनीतिका माध्यमले विश्वभर प्रभाव फैलाइरहेको छ । हिन्दुत्व विचार भारतमा मूल विचारका रूपमा जरा गाडिरहेको छ ।

व्यापार र प्रविधिमा दक्ष जनशक्तिका माध्यमले भारत विश्वभर प्रभाव बनाउन खोजिरहेछ । योग उसको अर्को माध्यम हो विश्वभर प्रभावशाली बन्ने । यसरी भारत र चीन पूर्वीय दर्शन बोकेका देशहरू प्रभावशाली बन्दै जाँदा विश्व व्यवस्थामा व्यापक परिवर्तनहरू आएको छ ।

पश्चिमाहरू कमजोर बन्दै जानुमा पूर्वीय दर्शनका उर्वर भूमि भारत र चीनको नीति तथा रणनीतिक एउटा कारण हो तर युरोपभित्रको शक्तिसंघर्ष मुख्य कारण हो । व्यापार, उपनिवेश हुँदै पुँजी र बुद्धिको माध्यमले अन्य देशमा वर्चस्व बनाउन खप्पिस पश्चिमा शक्ति द्वन्द्वको ग्रान्डडिजाइनमा पनि खप्पिस छन् भन्ने अफगानिस्तान, रुवान्डा, इथियोपिया, सोमालियालगायत देशका द्वन्द्वका घटनाबाट बुझ्न सकिन्छ । तर, त्यस्ता द्वन्द्वमा फालिने विचाररुपी अस्त्र र माध्यमहरू जसरी छर्लङ्ग भए त्यसले उनीहरूलाई विफल मात्र बनाउँदै लगेन विश्वभर प्रभावहीन बनाउँदै लगेको छ ।

एसिया, अफ्रिकाजस्ता धेरै जनसंख्या र स्रोत भएका ठाउँहरूमा उनीहरूका सैनिक हट्न बाध्य भइरहेका छन् । अन्य माध्यमले उनीहरूको उपस्थिति पनि कमजोर हुन थालेको छ । यस्ता गतिविधिले संसारमा नयाँ राजनीतिक उथलपुथलको संकेत हो ।

प्रतिक्रिया दिनुहोस्