काठमाडौं । साहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको छ ।
प्रहरीका अनुसार अनुसन्धान प्रतिवेदनमा ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ बिगो मागदाबी गरिएको छ । विभिन्न कम्पनीमा गएको सहकारीको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा मात्र १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ ।
साहारा सहकारीको रकम हिनामिना गरेको आरोपमा गत ५ मंसिरमा रविसहितका व्यक्तिहरुविरुद्ध पुरक जाहेरी दर्ता भएको थियो ।
साहारा चितवन सहकारीबाट नेचर हर्ब्स इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जिबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रूपैयाँ गएको भन्दै गत मंसिर ५ गते पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए ।
साहारा सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय ३४ छन् । कुल बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रूपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।