Logo
Logo

सन्दीपले क्रिकेटबाट सन्यास लिएका हुन ?


2.3k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप लामिछानेले खेल जीवनबाट सन्यास लिने आशय व्यक्त गरेका छन् । उनले शनिबार मध्यराति फेसबुक पेजमार्फत आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिँदै खेल जीवनबाट सन्यास लिने आशयसहितको स्टाटस लेखेका हुन् ।

‘सबै कुराका लागि सबैलाई धन्यवाद । यो देश र यस सुन्दर राष्ट्रका अद्भुत मानिसहरूले मेरो यात्राको प्रत्येक कदममा सधैँ साथ दिए, अटल सहयोग प्रदान गरे’, सन्दीपले लेखेका छन्, ‘तपाईंहरूको माया र हौसला मेरा लागि अमूल्य छन् र सधैँ मेरो हृदयमा विशेष स्थान ओगटिरहनेछन् । शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु ।’

भर्खरै २४ वर्षको उमेरमा हिँडिरहेका सन्दीपले सन्यास लिने आशयको स्टाटस लेख्नुलाई स्वाभाविक मानिएको छैन । यसले क्रिकेट समर्थकमा तरंक पैदा गरेको छ । यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छन् । कसैले खेल जीवनबाट सन्यास नलिन अनुरोध गरिरहेका छन् भने कतिपयले भने नघुक्र्याउन आग्रह गरेका छन् । कतिले चाहिँ ‘ह्याप्पी रिटायरमेन्ट’ लेखेका छन् ।

पछिल्लो समय राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका सन्दीपले जय ट्रफी प्रतियोगितामा अम्पायरले गरेको निर्णयप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका थिए । अम्पायरिङप्रति औँला उठाएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) र सन्दीपबीच सम्बन्ध चिसिएको आशंका गरिएको छ । यसैकारण उनले सन्यासको संकेत गरेको हुनसक्ने अनुमान छ ।

उनले नेपालको अम्पायरिङको स्तरमा ठूलो सुधार आवश्यक रहेको बताएका थिए । एकदिवसीय खेलमा सबैभन्दा कम खेल खेल्दै १०० विकेट लिएर विश्वकीर्तिमान बनाएका सन्दीपको खेल पछिल्लो समय भने खस्किएको छ ।

गत महिना सकिएको नेपाल प्रिमियर लिग (एनपीएल)मा पनि उनले खराब प्रदर्शन गरेका थिए । हालै सकिएको जय ट्रफीमा भने उनले औसत प्रदर्शन गरे ।

प्रतिक्रिया दिनुहोस्