काठमाडौं । नेकपा माओवादी केन्द्रले अनेरास्ववियू (क्रान्तिकारी) बाट बिदा भएका विद्यार्थी नेताहरूको व्यवस्थापनका लागि एक हप्ताभित्र सुझाव पेस गर्न निर्देशन दिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले विज्ञप्ति जारी गर्दै उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा गठित कार्यदललाई अनेरास्ववियू (क्रान्तिकारी) बाट बिदा भएका विद्यार्थी नेताहरुबारे एक हप्ताभित्र सुझाव पेस गर्न निर्देशन दिएका हुन् ।
‘सो कार्यदललाई सङ्गठनबाट बिदा भएका विद्यार्थी नेताहरूको क्षमता, रुचि र पार्टीको आवश्यकताको आधारमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एक हप्ता भित्रमा सुझाव सहितको प्रतिवेदन बुझाउन निर्देशन गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
गत पौष १३ गते ३२ वर्ष उमेर हद लगाउने वा खुल्ला राख्ने भन्ने निर्वाचनबाट ३२ वर्ष उमेर हद लगाउने पक्षमा बहुमत आएपछि माओवादीको केन्द्रीय समिति बैठकले सङ्गठनबाट विधानतः बिदा भएका युवा विद्यार्थीहरूको उचित जिम्मेवारी व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
लामो समय सङ्गठनमा खर्चेका ऊर्जाशील युवा विद्यार्थीहरू बिदा हुनुपर्ने अवस्था आएपछि माओवादीले उपमहासचिव बस्नेतको संयोजकत्वमा क्रान्तिकारीका इन्चार्ज हिमाल शर्मा र निवर्तमान अध्यक्ष पञ्चा सिंह रहेको कार्यदल गठन गरी उनीहरुको व्यवस्थापका लागि सुझाव पेश गर्न भनेको थियो ।