काठमाडौं । गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सका कारण आफूले पटकपटक धोका पाएको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो, तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ । अन्य एयरलायन्सले धमाधम प्लेन उडाइरहेका छन् ।’
केही दिनअघि पनि आफूले सोही एयरलायन्सबाट धोका पाएपछि नेपालगन्जको कार्यक्रम नै छुटाउनुपरेको उनले उल्लेख गरेका छन् । आज पनि आफू बिहानैदेखि काठमाडौं एयरपोर्टमै रहेको बताएका छन् ।
उलने लेखेका छन्– ‘‘श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन, यस्तो घटना कि त अन्य एयरलायन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एयरलायन्स काम छैन ।’
श्री एयरलाइन्सले भने प्रतिकूल मौसमका कारण उडान हुन नसकेको जनाएको छ ।