काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले रिहा गर्ने तीन बन्धकको नाम इजरायल पठाएको छ । हमासले रिहा गर्ने तीन महिला बन्धकको नाम सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हमासले रोमी गोनेन, इमिली दामरी र दुरुन स्टेनब्रीचरलाई रिहा गर्ने जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले रिहा गर्ने बन्धकको नाम नपठाउँदासम्म गाजामाथि आक्रमण नरोक्ने बताएका थिए ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेपछि २५१ जनालाई बन्धक बनाएर आफ्नो साथमा लगेको थियो । २५१ बन्धकमध्ये १५७ जना रिहा भइसकेका छन् ।
सन् २०२३ को नोभेम्बर २४ देखि ३० सम्म भएको युद्धविरामका क्रममा हमासले १०९ बन्धक रिहा गरेको थियो । इजरायली सेनाले आठ बन्धकको उद्धार गरेको थियो ।
हमासको नियन्त्रणमा रहेका मध्ये ३७ बन्धक मृत फेला परेका थिए । इजरायली सेनाको आक्रमणमा परेर तीन बन्धकको मृत्यु भएको थियो ।
हमासको नियन्त्रणमा हाल ९४ बन्धक छन् । इजरायली सरकारका अनुसार, ९४ मध्ये ३४ जनाको मृत्यु भइसकेको छ । ६० जना मात्र जीवित अवस्थामा हमासको नियन्त्रणमा छन् । हमासले मृतकको शरीर पनि आफ्नो कब्जामा राखेको छ ।