Logo
Logo

सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छटपटीमात्र हो : प्रदीप ज्ञवाली


441
Shares

पर्वत । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार सङ्कटमा पर्‍यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीको छटपटीमात्र भएको बताएका छन्।

एमाले पर्वतले आज सुरु गरेको तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दावीसमेत गरे।

“सरकार ढुक्कसँग ३ वर्षसम्म चल्ने भयो भनेपछि सरकारबाहिर रहेका दललाई छटपटाहट भएको हो”, उनले भने। मुलुकमा देखिएको सङ्कट समाधान गर्नकै लागि दुई ठूला दल एकठाउँमा आएको उल्लेख गर्दै उनले नेपाली कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताए।

वर्तमान सरकार कुनै पनि सङ्कटमा नपर्ने उपमहासचिव ज्ञवालीको दावी गरे। सरकारलाई घेराबन्दीमा पार्न विभिन्न चलखेल सुरु भए पनि कुनै पनि हालतमा सरकार नडगमडाउने दावी उनले गरे।

कांग्रेस र एमाले प्रमुख प्रतिष्पर्धी दलमात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उनले बताए।

सरकारले ल्याएको अध्यादेश संविधानअनुसार नै आएको उपमहासचिव ज्ञवालीले बताए। मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग सम्बन्ध नरहेको उनको भनाइ थियो।

सरकार भ्रष्टाचारविरुद्ध निर्मम हिसाबले लागेको उनको दावी थियो। भ्रष्टाचार कुनै सिद्धान्त नभई मुलुकका लागि अभिसाप नै भएकाले जुनसुकै पार्टीसँग आबद्ध भएको व्यक्ति भए पनि कारबाहीको दायरमा ल्याएरै छाडिने उनले बताए।

एमाले केन्द्रीय कमिटीको कार्यक्रमअनुसार सञ्चालन गरिएको प्रशिक्षणमा एक सयभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्