काठमाडौं । कोशी र कर्णाली प्रदेशको हिउँदे अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ । कोशी प्रदेश सभाको छैंटौं हिउँदे अधिवेशन आज दिउँसो २ बजेबाट सुरु हुनेछ । आजको बैठकमा पाँच विषयमा छलफल हुने कोशी प्रदेश सचिवालयले जनाएको छ ।
जसमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेशी, सभामुखको आदेश अनुमोदन, र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेश गर्ने कार्यक्रम छ । पहिलो दिन शीर्ष नेताहरुले मन्तव्य दिनेछन् । असोज ४ मा पाँचौं अधिवेशन समाप्त भएको थियो ।
त्यस्तै कर्णाली प्रदेश सभाको पनि हिउँदे अधिवेशन आजदेखि नै सुरु हुँदैछ । आज दिउँसो १ बजेदेखि सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेका छन् । प्रदेश सभा सचिवालयका अनुसार दर्ता भएका विधेयकमा कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् ।