काठमाडौं । नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले विराटनगरको ३ नम्बर वडा समितिका १८ जनाले सामूहिकर राजीनामा दिएका छन् । मानगढ खानेपानी आयोजनाको निर्वाचनबाट सुरु भएको विवाद उत्कर्षमा पुग्दा विराटनगरको ३ नम्बर वडा समितिका १८ जनाले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरूमा वडा अधिवेशन आयोजक समितिको उपसंयोजक हिरा बस्नेत रिजाल, उपसचिव कुशुला काफ्ले निरौला, अनोज गौतम (अनुज), सदस्यहरू गौरीशङ्कर रेग्मी, दिलीप श्रेष्ठ, सीता कट्टेल, नारायण सुवेदी, तुलसी सुवेदी, चुँडामणि तिम्सिना, पुष्प आचार्य, लक्ष्मण थापा, दलमान तामाङ, भगवती पोखरेल, होम निरौला, अन्नपूर्ण पोखरेल, अर्जुन कटुवाल, बिराज अधिकारी र उपा सिवाकोटी रहेका छन् ।
पार्टी नेतृत्वले सामूहिक छलफलको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा कसैसँग परामर्श तथा छलफलै नगरी विना जानकारी ३ नं. वडा अधिवेशन आयोजक कमिटीको नामावलीमा सङ्गठित सदस्यता समेत नरहेका अन्य पार्टीमा रहेका व्यक्तिहरूलाई राखेको उनीहरुले राजीनामा उल्लेख गरेका छन् ।
सामूहिक प्रयासबाट नेतृत्व चयन गर्ने लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरी माथिल्लो कमिटीबाट गठन गरी जानकारी भएको नेतृत्वमा रही पार्टीको जिम्मेवारी बहन गर्न असमर्थ रहेको समेत उनीहरुले बताएका छन् । यसअघि एमाले विराटनगर कमिटीको बैठकले महानगर कमिटी सदस्यमा मनोनीत गरेपछि वडा नम्बर ३ का उपाध्यक्ष प्रकाश सापकोटाले पनि राजीनामा दिएका थिए । सापकोटाले बिहीबार जारी गरेको राजीनामा पत्रमा वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई गरेको कारबाही फिर्ता नगरेसम्म पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने बताएका थिए ।
नेकपा एमाले मोरङ जिल्ला कमिटीले वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराईलाई खानेपानी आयोजनाको निर्वाचनको विषयलाई लिएर कारबाही गरेको थियो । सोही विषयमा सउुरु भएको विवाद उत्कर्षमा पुग्दा एमाले विराटनगरमा राजीनामा दिनेको लहर सुरु भएको हो ।