काठमाडौं । गायिका अनिला राई र गायक भीम लिम्बूको स्वरमा ‘सोल्टीज्यू’ बाल गीतको भिडियो सार्वजनिक भएको छ । यो गीत केही वर्षअघि रेकर्डिङ गरिएको भएपनि भिडियो हालैमात्र निर्माण गरिएको हो ।
यो भिडियो आज (सोमबार) गीतकारसमेत रहेकी गायिका अनिला राईकै अफिसियल युट्युब च्यानल ‘अनिला अफिसियल’मार्फत सार्वजनिक गरिएको हो । पूर्वेली लोकशैलीको यो गीतको भिडियो पूर्वको पर्यटकीय स्थान इलाम र भेडेटारका अलावा धरानको बुढासुब्बा परिसरमा छायाँकन गरिएको हो । भिडियो सार्वजनिक गरेपछि गायिका अनिलाले भनिन्, ‘यो गीतको भिडियो पहिल्यै निर्माण गर्ने सोच थियो । तर, समय नै मिलेन ।’ यस भिडियो निर्माणको संयोजन टार्जन लिम्बूले गरेका हुन् ।
अनिला र भीमको स्वर रहेको ‘सोल्टीज्यू’ बोलको यस गीतमा शब्द यमन सुबेदी र संगीत ताराप्रकाश लिम्बूको रहेको छ । भिडियोमा भिडियोमा नन्दराज राई र शशिकला राईले अभिनय गरेका छन् । यस भिडियोले माया प्रेमका साथै पुर्वको पर्यटकीय स्थान इलामको कन्याम र भेडेटारको समेत प्रवद्र्धन गरेको छ ।
गायिका अनिला बेलायतमा बसेर पनि गीतसंगीत क्षेत्रलाई निरन्तरता दिँदै आएकी छन् । दुई सयभन्दा बढी गीत गाइसकेकी अनिलाको दर्जन गीत चर्चित छन् ।
यस्तै, गायक भीम लिम्बू पनि एक दकशदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय छन् । याक्थुङ युथ एसोसिएशन (वाईवाईए’को अध्यक्ष समेत रहेका गायक भीमको पुर्वेली शैलीका गीतहरू लोकप्रिय छन् ।