Logo
Logo

सशस्त्र प्रहरीले समात्यो पर्साबाट २१ करोड मूल्यको अवैध सामान


1.6k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम बढेको छ ।

सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै चालु आवको ६ महिनामा भन्सार छली गरेर भित्र्याइएका २१ करोड २८ लाख २६ हजार रुपैयाँ मूल्य पर्ने सामान बरामद भएकाे छ ।

‘सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यपदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ,’ सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति राधेश्याम धिमालले भने, ‘सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ ।’

सशस्त्र प्रहरी बलले चालु आवको ६ महिनामा १६ करोड ४७ लाख ४१ हजार रुपैयाँको भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

त्यस्तै सोही अवधिमा चार करोड ६० लाख ८५ हजार रुपैयाँ मूल्य पर्ने बिलबिजक नभएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।

सशस्त्र प्रहरीले आव २०८०–८१ को ६ महिनामा भन्सार छली गरेर भित्र्याइएको चार करोड ७७ लाख रुपैयाँ मूल्यका सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको थियो । आव २०८०–८१ को ६ महिनाकै अवधिमा बिलबिजक नभएका नौ करोड ८२ लाख ६९ हजार रुपैयाँको सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो । पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग खुला रूपमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्