काठमाडौं । संघीय संसदअन्तर्गत आज पाँच वटा समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, सार्वजनिक लेखा समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
दिउँसो साढे ११ बजे उद्योग समितिको बैठक बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुने कार्यसूची छ । त्यस्तै दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा महान्यायाधिवक्ताको कार्यालयको काम कारबाहीको सम्बन्धमा छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय, समितिमा प्राप्त उजुरी उपरहरु सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्थाको सम्बन्धमा छलफल हुनेछ । दिउँसो ३ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।