काठमाडाै, ८ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब चार महिनासम्म थुनामा राखेर अनुसन्धान गरेका १२ जना प्रहरी निर्दाेष देखिएका छन् । तस्करीको सुन बाँडिचुडी खाएको आरोपमा अख्तियारले गत फागुनदेखि १६ प्रहरीलाई थुनामा राखेर अनुसन्धान गरेकोमा त्यसमध्ये चार जनाको मात्र त्यसमा संलग्नता देखिएको छ । लामो थुनामा रहेका अन्य १२ प्रहरीका् संलग्नता नदेखिएपछि गत शुक्रबार छुटेका छन् ।
आयोगले सीमा प्रहरी कार्यालय टिमुरे, रसुवाका तत्कालिन प्रहरी निरीक्षक खेम नेपालसहित चार जनाविरुद्ध शुक्रबार बिशेष अदालतमा मुद्दा दायर गरी अन्य १२ प्रहरीलाई मुद्दा चलाउन सक्ने प्रमाण नभएको भन्दै उनीहरुलाई छाड्ने निर्णय गरेको हो । १२ तस्करीको सुन लुकाउने घटनामा अन्य प्रहरीले प्रत्यक्ष संलग्नता नदेखिएपछि उनीहरुलाई मुद्दा नचलाउने निर्णय गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए । शंकाकै आधारमा यसरी लामो समय थुनामा राख्ने प्रवृत्तीले आयोगको अनुसन्धान प्रणालीमाथि प्रश्न उठेको छ ।
गत १४ फागुनदेखि आयोगले इन्सपेक्टर नेपालसहित सई भोजबहादुर सेन वली, असई रामशरण कुमाल, प्रहरी हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा, गोपी बहादुर लो तामाङ तथा जवानहरु शिव नारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र वि.क, रिता चौधरी, मनोज आले, छेक्यु डोल्पा मोक्तान, तारा बहादुर प्रजा र कार्यालय सहयोगी हरी बहादुर श्रेष्ठलाई निलम्बन गरी हिरासतमा लिएको थियो । उनीहरु सबैले तस्करीको सुन लिएको आयोगको आशंका थियो ।
सीमा प्रहरी कार्यालय टिमुरेले २२ मंसिरमा केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गराउँदा अवैध सुन बरामद गरेको थियो । चालक फुर्वा तामाङलाई समेत प्रहरीले पक्राउ गरेको थियो । सुनसहित उनलाई राजश्व अनुसन्धान विभागमा बुझाउनुपर्नेमा चालकलाई छाडिदिएर सुन भने आफुहरुले राखेका थिए । सो सुन त्यो दिन डिउटीमा रहेका सबै प्रहरीको मिलेमतोमा बाँडीचुडी लिएको भन्दै आयोगले सबैलाई हिरासतमा लिएको थियो । तर, १२ प्रहरीको त्यसमा प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै आयोगले उनीहरुलाई मुद्दा नचलाउने निर्णय गरेको हो । घटनामा संलग्नता नै नहुँदा पनि यती लामो समय थुनामा राख्दा आफुहरुले ठूलो यातना भोग्नुपरेको ती प्रहरीको गुनासो छ ।
आयोगको अनुसन्धानमा इन्सपेक्टर नेपाल, हवल्दार रामकाजी लामा, पुरुषोत्तम खत्री र रामशरण रिमाललाई मात्र मुद्दा दायर गरेको हो । उनीहरुविरुघ ६ लाख ७७ हजार पाँच सय ९९ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ । यसअघि आयोगले उनीहरुले चार सय २२ ग्राम सुन बरामद गरी हिनामिना गरेको जनाएको छ । तर, मुद्दा दायर गर्दा एक सय ११ ग्राम मात्रको पुष्टि भएको जनाएको छ ।
सो सुन इन्सपेक्टर नेपालको निर्देशनमा अवहल्दारद्वय रामकाजी र पुरुषोत्तमले काठमाडौंमा बिक्रि गरेको र त्यसमा अर्का हवल्दार रामशरण रिमालले साथ दिएको र अन्यले पैसा लिएको प्रष्ट प्रमाण नदेखिएको आयोगको निष्कर्ष छ । सोही आधारमा अन्यलाई विभागीय कारबाही गर्न आयोगले प्रहरीलाई पत्राचार गरेको छ ।
ठूला व्यक्तिलाई सकेसम्म मुद्दा नै नचलाउने र चलाए पनि फरार देखाएर आयोगले मुद्दा चलाउने गरेको छ । तर, तल्लो तहका कर्मचारीमाथि आयोगले सानो मुद्दामा पनि धेरै दुःख दिने गरेको आरोप लागेको छ । अख्तियारका प्रवक्ता कोइराला भने अनुसन्धान नै नगरी क–कसको संलग्नता थाहा नहुने भएकाले सबैलाई थुनामा राखेर अनुसन्धान गर्नुपरेको बताउँछन् । तर, सरकारी कर्मचारी नै भएकाले भाग्ने सम्भावना कम हुने भएकाले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नभएमा तारेखमा राख्न सकिने प्रावधान छ । थुनामा रहने प्रहरीहरु तल्लो दर्जाका भएकाहरुले उनीहरुलाई यसरी लामो समय थुनिएको हो ।
ठूला मुद्दाका आरोपीलाई भने आयोगले एक दिन पनि हिरासतमा नराखी मुद्दा चलाउने गरेको छ । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आयोगले गत २२ माघमा एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सबैलाई फरार आरोपी बनाएर मुद्दा चलाएको थियो । जसकारण एकमध्ये कोही पनि अदालत उपस्थित भएका छन् । बाहिर बसेर तयारी गरेर अदालतमा उपस्थित हुँदा उनीहरुलाई सहज हुने गरेको छ ।
धेरै जसो मुद्दामा आयोगले तारेखमा राखेर छानबिन गर्छ । तर, साना मुद्दामा आरोपीहरुलाई भने आयोगले हिरासतमै लिने गरेको छ । कतिसम्म भने ४÷५ हजार घुससहित पक्राउ परेकाहर समेत एक महिनाभन्दा लामो समय आयोगको हिरासतमा बस्ने गरेका छन् । तर, करोडौं भ्रष्टाचार गर्नेहरुलाई आयोगले हिरासतमा लिने गरेको छैन ।
‘अख्तियार पनि प्रहरी जस्तै पहिला थुन्ने र अनि मात्र कुरा सुन्ने अनुसन्धान प्रणालीमा गएको देखिन्छ,’एक पूर्व सचिव भन्छन्,‘ संवैधानिक निकायको यस्तो अनुसन्धान शैली पटक्कै ठिक होइन , यस्तो प्रवृत्तीले आयोगमाथि अविश्वास बढाउँछ ।’