Logo
Logo

सरकार कहिले ढल्छ ?


5.7k
Shares

सर्वसाधारण जनताको मुखमा एउटै प्रश्न छ, यो सरकार कहिले ढल्छ ? सरकारको मुखले भन्छ, यो सरकार ढल्दैन । सरकार ढल्छ र ढल्दैनको अन्योलमा रुमल्लिएको छ राजनीति । प्रधानमन्त्री केपी शर्मा ओली र एमाले महासचिव शंकर पोखरेलको बोलीबाटै यो सरकार धेरै लामो समयसम्म टिक्दैन भन्ने अनुमान लगाउन सकिन्छ । त्यसो त एमालेले दुईतिहाइको सरकार पूरै अवधि चलाउन नसकेको इतिहास पनि छ । आफ्नै एकल बहुमतको सरकार चलाउन नसक्ने एमाले नेतृत्वले कांग्रेसको टेकोमा कति दिन सरकार चलाउँला भन्नेहरूको पनि कमी छैन ।

यो गठबन्धन सरकारप्रति आम जनताको विश्वास नभएरै यो सरकार कहिले ढल्छ भन्ने प्रश्न उठाउन थालेका हुन् । पटक–पटक सरकारको नेतृत्व गरेको एमाले जति पटक सरकारमा पुगे पनि असफल भएको धेरै उदाहरणहरू छन् । सरकारमा पुगेर असफल हुनुको कारण अरू नभएर आफ्नै कारणले हो । जतिपटक सरकारमा पुग्यो त्यतिपटक नीतिगत भ्रष्टाचारमा मुछिन थालेपछि एमाले सचेत जनताको दृष्टिमा भ्रष्टहरूको पार्टी हो भन्ने बुझाई छ ।

जनताले जति आलोचना गरे पनि एमाले नेतृत्व सच्चिन तयार छैन भन्ने कुरा हालै अध्यादेशबाट भूमिसम्बन्धी ऐन संशोधन गरेबाट स्पष्ट हुन्छ । यो अध्यादेश भूमाफियाको हितमा ल्याइएको चर्चा भइरहेको छ । संसद् अधिवेशन छलेर अध्यादेश ल्याउन के को हतारो थियो भन्ने प्रश्न उठेको छ । देशभरि सरकारी जग्गा भूमाफियाले कब्जा गरेको र गिरिबन्धु टिस्टेटको जग्गा विवाद चर्किएको बेला अध्यादेश ल्याउनुले सरकारको नियत सफा देखिन्न । यदि, भूमिसम्बन्धी अध्यादेश ल्याउनै थियो भने संसद्को बैठकमा व्यापक छलफल गरेर ल्याएको भए सरकारको नियतमाथि शङ्का उठ्ने थिएन ।

यो गठबन्धन सरकारप्रति आम जनताको विश्वास नभएरै यो सरकार कहिले ढल्छ भन्ने प्रश्न उठाउन थालेको छ । पटक–पटक सरकारको नेतृत्व गरेको एमाले जति पटक सरकारमा पुगे पनि असफल भएको धेरै उदाहरणहरू छन् । सरकारमा पुगेर असफल हुनुको कारण अरू नभएर आफ्नै कारणले हो ।

यति बुद्धि दिने मान्छे पनि एमालेभित्र रहेनछन् । सरकारले गरेको ठिक कामलाई ठिक, बेठिक कामलाई बेठिक भन्न सक्ने आँट आफूलाई कम्युनिष्ट भन्नेहरूमा हुनुपर्छ । ठिक र गलत छुट्याउन नसक्ने मान्छे कम्युनिष्ट हुन सक्दैन । त्यसमाथि भ्रष्टाचार गर्ने नेता, कार्यकर्ता त झनै कम्युनिष्टका शत्रु हुन् । एमाले कम्युनिष्ट सिद्धान्त, विचार र आचारणबाट च्यूत भएका कारण कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको छ । सत्तामा पुगेपछि आफ्नो स्वार्थका लागि नीतिगत भ्रष्टाचार गर्ने नेता, कार्यकर्ताका कारण एमाले बदनाम छ । एमालेमा पुराना कार्यकर्ताबाहेक नयाँ कार्यकर्ताहरू जन्मन सकेको छैन । एमाले कांग्रेसभन्दा पनि वैचारिक रूपमा स्खलित हुँदै गएको कारण युवा पुस्ता नयाँ पार्टीप्रति आकर्षित हुँदै गएका छन् ।

भाषण र गफमात्रैले पार्टी बन्दैन । पार्टी बनाउन सैद्धान्तिक वैचारिक पाटो बलियो हुनुपर्छ । त्यस अनुरुप सांगठनिक पद्धति र अनुशासन कडा हुनुपर्छ । छाडातन्त्रले कम्युनिष्ट आन्दोलन जोगाउन सक्दैन । अहिले एमाले अनुशासनहीन भएकैले राजनीतिमा विकृति, विसंगति झांगिएको हो । यसलाई चिर्न सक्नुपर्छ ।

एमालेका लागि हरेक आम निर्वाचन एउटा अग्निपरीक्षा हो । त्यो परीक्षामा एमाले फेल हुँदै आएको छ । त्यसको प्रमुख कारण भनेकै भ्रष्ट, अनुशासनहीन नेतृत्व हो । एमालेमा धेरै इमानदार कार्यकर्ताहरू पनि छन्, तिनीहरूले कम्युनिष्ट आन्दोलन जोगाउने हो भने नियत खराब भएका भ्रष्ट नेताहरूलाई पार्टीभित्रै बसेर नङ्ग्याउन सक्नुपर्छ । भीम रावल बनाउलान् भन्ने त्रास त्याग्नुपर्छ । अन्यथा, जतिपटक एमाले सरकारको नेतृत्वमा पुग्छ, त्यतिपटक सचेत जनताले प्रश्न गर्नेछन् सरकार कहिले ढल्छ ? यो एमालेप्रतिको अविश्वास हो ।

प्रतिक्रिया दिनुहोस्