काठमाडौं । टर्कीको एक रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । उत्तरपश्चिम बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । त्यतिबेला होटलमा २३४ पाहुना रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय मिडियाका अनुसार आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका थिए । होटलबाट हामफाल्दा दुई जनाको मृत्यु भएको थियो भने अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको थियो । आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो । त्यसैले धेरैलाई होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको थियो ।
टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा ५० जना घाइते भएको जानकारी पत्रकारहरुलाई दिएका छन् । उक्त घटनाप्रति सरकार दुःखी भएको उनले बताए ।