काठमाडौं । जलस्रोत विधेयकमाथिको छलफल होटलमा राखिएको भन्दै सांसदहरूले आलोचना गरेका छन् ।
जलस्रोत विधेयक प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिमा दफावार छलफलमा छ । दफावार छलफलमा रहेको विधेयकबारे समितिले गत सोमबार बुढानीलकण्ठस्थित ‘होलिडे इन रिर्सोट’मा छलफल राखेको थियो ।
गत असोजमा सो होटल उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका थिए ।
विधेयकमाथि विज्ञ र संसदीय समितिका सदस्यबीच राखिएको छलफल आवासीय थियो ।
गत सोमबार बिहान साढे ८ बजेदेखि मंगलबार दिउँसो २ बजेसम्म चलेको उक्त छलफललाई लिएर बुधबार पूर्वाधार विकास समितिकै बैठकमा प्रश्न उठेको छ ।
बैठकमा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत र माधव सापकोटाले विधेयकमाथिको छलफल मन्त्रीको रिर्सोटमा गर्दा त्यसले सही सन्देश नदिएको बताए । उनले भने, ‘स्वार्थको द्वन्द्व कहाँ छ भनेर मसिनो ढंगले हेर्नुपर्छ । हाम्रो चासो यही हो ।’
सांसद सापकोटाले विज्ञसँग छलफल गर्न आवश्यक रहेको तर कहाँ बसेर छलफल गरिएको भन्ने विषयले अर्थ राख्ने बताए । ‘राय लिन हुँदैन भन्ने होइन । तर, कहाँ र कहिले गर्ने भन्ने होला,’ उनले भने ।
समितिबाहिर बैठक राख्ने विषय व्यवहारिक रुपमा हेर्नुपर्ने र सांसदहरू होटलमा भात खाएको खुसी भए भन्ने ढंगले विज्ञसँगको छलफललाई लिन नहुने बताए ।
‘होटलमा बस्नेरनबस्ने पटक–पटक छलफलमा आउने गरेको छ । व्यवहारमा संलग्न हुने परिस्थिति छ,’ उनले भनेका छन्, ‘हामी एउटै बुझाइमा छौं– कुनै होटलमा छाक खाएकोमा खुसी हुने तहको मानिस यहाँ छैनौं ।’
परिवर्तनका लागि आफूहरूले संघर्ष गरेको स्मरण गर्दै उनले आफूहरुमा गलत मनसाय नरहेको बताए । संसदीय समितिको प्रतिष्ठा बढाउन सामूहिक रूपमा जिम्मेवार हुनुपर्ने उनको आग्रह छ ।