काठमाडौं । दाङा एक बोर्डिङ स्कुलका लेखापालको कुटाईबाट कक्षा ९ मा अध्ययनरत विद्यार्थीको कानको जाली फुटेको छ ।
लमही नगरपालिका– ८ सतबरियास्थित ग्यालेक्सी बोर्डिङ स्कुलका लेखापाल सुनील चौधरीले दुई दिन विद्यालय नआएको भन्दै कुटेपछि कक्षा ९ मा अध्ययनरत निखिल खड्काको कानको जाली फुटेको हो ।
निखिलमाथि मंगलबार बिहान गेटमै कुटपिट भएको थियो । त्यसपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा कानको जाली फुटेको र रगत जमेको रिपोर्ट आएको निखिलका मामा विष्णु खत्रीले जानकारी दिए ।
उनका अनुसार निखिलले देब्रे कान सुन्दैनन् भने खुट्टा र ढाडमा पनि चोट लागेको छ । घटनाबारे प्रहरीमा जाहेरी दिने तयारी रहेको उनले बताए । विद्यालयका प्रिन्सिपल गणेशप्रसाद कोइरालाले भने यो विषयमा विद्यालयले अनुसन्धान गरिरहेको बताए ।