काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ ।
बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा चार नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नेपाली नागरिकहरु ४२ वर्षीय कमला नवीन भण्डारी, ४० वर्षका लच्छीराम कन्नु पाशी, १० वर्षका हिमु नंदराम विश्वकर्मा र ८० वर्षीय जयकला बडे जयकाडी छन् । उक्त भागदौडमा हालसम्म मृत्यु हुनेको संख्या १३ पुगेको छ । १३ जनामध्ये ७ जनाको सनाखत भएको छ ।
अधिकारीहरुका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए ।
त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठक्कर दिएको थियो ।
दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।