रुपन्देही । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरण मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन् ।
बुधबार थुनछेक बहस नभएपछि उनलाई आज अदालतमा उपस्थित गराइएको हो । जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार आजदेखि रविमाथि थुनछेक बहस हुनेछ । यो मुद्दा जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस हुँदैछ ।
पक्ष विपक्षका वकिलले बहस गरेपछि आदेश आउने छ । वकालतनामा टिपाउनेक्रम अझै जारी रहेकाले कति जनाले बहस गर्ने भन्ने यकिन भइनसकेको स्रेस्तेदार ज्ञवालीले बताए । रवि लामिछानेसहित २२ जनाविरुद्ध माघ ६ गते पुरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।
सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । पुरक अभियेजनामा १४ जना प्रतिवादी बनेका छन् । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचरसमेत बरामद भएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचरमार्फत जम्मा भएको खुलेको थियो ।